सहज बहुमत जुटाउन नेताका घर चाहर्दै ओली–प्रचण्ड

जीवन शर्मा
२२ फागुन २०८० २२:१९

काठमाडौं,२२ फागुन ।  नेकपा एमाले र माओवादी केन्द्रबीच भएको नयाँ सत्ता समीकरण पछि सरकारमा बहुमत पुर्याउन प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली नेताका घर चाहर्न थालेका छन् । चार दलीय गठबन्धनभित्र सत्ता भागबन्डामा कुरा नमिल्दैगर्दा गठबन्धनका शीर्ष नेताहरु नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको घरमा पटक पटक पुगिसकेका छन् ।
सोमबार प्रधानमन्त्री प्रचण्ड,माओवादी उपाध्यक्ष नारयणकाजी श्रेष्ठ र जसपा अध्यक्ष उपेन्द्र यादवले भेटेर सरकारमा सहभागीताका बारेमा कुरा गरेका थिए । कांग्रेससँगको गठबन्धन तोड्नुअघि सल्लाह नै नगरेका नेताहरुलाई माधव नेपालले असन्तुष्टी पोखेर पठाएका थिए ।

मंगलबार फेरि प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली, उपाध्यक्ष विष्णु पौडेल महासचिव शंकर पोखरेलसहितका नेताहरु नेपालको घर पुगेर गठबन्धन सरकारमा सहभागी हुन हार गुहार गरेको नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाल देशको आवाजलाई बताए ।  पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपाल सरकारमा जान सकारात्मक भएपनि प्रचण्डले विना सल्लाह गठबन्धन फेरबदल गरेको विषयमा असन्तुष्टी व्यक्त गरेको उनको भनाई छ । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन तोडेर प्रचण्ड एमालेतिर लागेपछि एकीकृत समाजवादीले कुनै निर्णय गरिसकेको छैन । एमाले अध्यक्ष ओली र नेपालबीच लामो समयदेखि सत्रुताको व्यवहार गर्दै एक अर्काप्रति कटाक्ष गर्दै आएका थिए । पार्टी फुटपछि माधव नेपाललाई तल्लो स्तरको गाली गर्दै बोलचाल समेत बन्द गरेका ओलीले माओवादीसँगको सत्ता र गठबन्धन टिकाउनका लागी नेपाल निवास पुगेरै सरकारको साझेदारी भइदिन आग्रह गरेका हुन् ।

यस्तो छ प्रतिनिधि सभामा रहेका दल तथा स्वतन्त्र सांसदको सिट संख्या ।

एक  वर्ष अघि माओवादीलाई सरकारमा काँध दिएको कांग्रेसले माओवादी एमाले गठबन्धन निर्माणसँगै प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मत फिर्ता लिएर प्रतिपक्षको भूमिकामा रहँने निर्णय गरेको छ । यो सँगै सरकारले ३० दिन भित्र पुनः सदनबाट विश्वासको मत लिनुपर्ने हुन्छ । बहुमतका लागि प्रतिनिधि सभामा भएका सदस्यको १३८ मत आवश्यक पर्छ । अहिले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा र जसपाको नयाँ गठबन्धनमा १४१ मत भएपनि रास्वपाले मन्त्रालय भागबन्डामा गृह सहित महत्वपूर्ण चार मन्त्रालय दाबी छाडेको छैन् । यो अवस्थामा रास्वपा सरकारबाट फिर्ता हुनसक्ने सम्भावनालाई ख्याल गर्दै एमाले माओवादीले नेकपा एस, जनमत र नाउपासमेतलाई सरकारमा सहभागी गराउने प्रयासमा छ ।

‘कम्फरटेबल’ बहुमत पु¥याउन प्रचण्डले संसद्मा १० सिट रहेको नेकपा एस र अन्य साना दललाई फकाइरहेका छन् । २०७९ पुस २६ र चैत्र ६ गते दुईपटक विश्वासको मत लिएका प्रचण्डले तेस्रोपटक संसद्मा विश्वासको मत लिनुपर्ने अवस्था आएको छ । हल संसद्मा एमालेका ७६, माओवादी केन्द्रका ३२ र रास्वपाका २० र जसपाका १२ गर्दा १४० सांसद पुग्छन् । एमालेले गत निर्वाचनमा ७९ सिट जिते पनि टोपबहादुर रायमाझीको सांसद पद निलम्बनमा छ, देवराज घिमिरे सभामुख छन् । त्यस्तै इलाम २ बाट जितेका सुवास नेम्वाङको निधन भएपछि एमालेका ७६ मात्रै सांसद छन् ।
४ सिट रहेको रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी सरकारमा जाने निश्चित भएको छ ।

६ सिट रहेको डा. सीके राउत नेतृत्वको जनमत पार्टी पनि सरकारमा जाने सम्भावना छ । प्रतिनिधि सभामा ४ सीट रहेको लोसपा अहिले अनिर्णित छ । प्रचण्डले मंगलवार बिहान लोसपा अध्यक्ष महन्थ ठाकुरसँग कुराकानी गरे पनि कुनै सहमति भने भएको छैन । गठबन्धनमा जोर जाम गरेर सरकारले पूर्णता पाउनै केही समय लाग्ने निश्चित छ । प्रधानमन्त्रीले विश्वासको मत लिनेबेला सम्म राजनीतिले फरक मोड लिनसक्ने आशंका समेत गरिएको छ । प्रचण्डबाट पटक पटक धोका पाएका एमाले अध्यक्ष ओली गठबन्धन लामो जानेमा अझै ढुक्क छैनन भने कांग्रेस सभापति शेरबहादुर देउवापनि दुई पटक प्रचण्डबाट नसोचेको धोका पाएकोमा रुष्ट छन् ।

यो अवस्थामा देउवा ओलीबीच सरकार गठनमा सहकार्य हुन सक्ने खेल बाँकीनै रहेको राजनीतिक बृत्तमा बहस चलेको छ । स्वतन्त्र चुनाव जितेका प्रभु साह र डा. अमरेशकुमार सिंहले समेत प्रचण्डलाई विश्वासको मत दिने पक्षमा छन् । जनमत, नागरिक उन्मुक्तिले विश्वासको मत दिँदा प्रचण्डको पक्षमा १५० सीट पुग्छ । नेपाली कांग्रेस र राप्रपा बाहेक संसद्का सबै दलले विश्वासको मत दिने प्रचण्डको अपेक्षा छ । प्रतिनिधि सभामा कांग्रेसका ८८ र राप्रपाका १४ सांसद छन् । १/१ सांसद रहेका नेपाल मजदुर किसान पार्टीले विपक्षमा उभिने संकेत गरेका छन भने राष्ट्रिय जनमोर्चाले अहिलेसम्म धारणा बनाएको छैन । गतवर्ष एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्दा जनमोर्चाले विपक्षमा मतदान गरेको थियो भने कांग्रेससँग मिल्दा पक्षमा मतदान गरेको थियो ।