पुरै परिवार सखाप

आफन्तको दाहसंस्कार गरेर फर्किएका एकै परिवारका ६ जनाको मृत्यु

देशको आवाज
१८ चैत २०८० ७:४५

काठमाडौं,१८ चैत्र । पशुपतिमा आफन्तको दाहसंस्कार गरेर काजक्रिया गर्न घर हिँडेको टोलीले नै त्रिशूलीमा परेर ज्यान गुमाएको छ। क्यान्सर रोगबाट थलिएका शंकर रोकाको मृत्यु भएपछि शुक्रबार शंकरको दाहसंस्कार सकेर शनिबार आमा जुनमाया रोका र मृतकका छोरा विवस रोकासमेत शनिबार आफ्नो घर गोरखा फर्कंदै गर्दा उनीहरू चढेको ट्याक्सी चितवनको इच्छामनकामना गाउँपालिका–५ मिलधारा भन्ने स्थानमा दुर्घटना हुँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ।

गोरखाको गोरखा नगरपालिका–४ मा शंकरको घर रहेको थियो। अन्तिम दाह संस्कार सकेर थप काम घरमा नै गर्ने भन्दै परिवार गोरखा फर्कंदै गर्दा उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। उक्त दुर्घटनामा परी शंकरकी आमा जुनमाया, छोरा विवस, जुनमायाका जेठी छोरी हरिमाया उपरकोटी र कान्छी छोरी अञ्जना रोका र हरिमायाका छोरा आगमन उपरकोटी रहेको गोरखा नगरपालिका–४ का वडाध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिइन ।

उक्त दुर्घनापछि स्थानीय प्रशासन र सुरक्षा निकायले ५ वटा शव त्रिशूली नदीबाट निकालेको भए पनि शंकरका छोरा विवसको शव भने यो समाचार तयार पार्दासम्म फेला पर्न नसकेको सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले बताए । बा१ज ४१९६ नम्बरको ट्याक्सी चालक अर्जुन सिर्मल रहेको र उनी पनि शंकरका आफन्त नै रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख भावेश रिमालले जानकारी दिए । शुक्रबारको दाहसंस्कार सकेर शनिबार बिहान ३ वटा गाडीमा शंकरका आफन्तहरू गोरखातर्फ लागेका थिए। काठमाडौंबाट सँगसँगै हिँडेको गाडी समयमा नआएपछि मुग्लिनमा कुरेर बसेका अन्य आफन्तहरूले प्रहरीलाई खबर गरेका थिए।

त्यसपछि प्रहरीको टोली खोजी गर्दै जाँदा सडकको डिभाइडर भाँचिएको देखेपछि खोजी गर्ने क्रममा त्रिशूली नदीमा ट्याक्सी डुबेको अवस्थामा फेला परेको एसपी रिमालले बताए । त्रिशूली नदीबाट निकालिएको शव अहिले गोरखा अस्पतालमा राखिएको छ भने हराएका विवसको खोजी भने प्रहरीले जारी राखेको छ। अहिलेसम्म दुर्घटनाको कारण भने पत्ता लाग्न सकेको छैन। अहिले शंकरको गाउँ पौवाखेत शोकमा डुबेको छ। शंकरका घरमा अहिले स्थानीय र छिमेकीको घुइँचो लागेको छ। घरमा पुगेका कोही पनि बोल्न सक्ने अवस्थामा रहेका छैनन्।