पुल निर्माणकार्य अलपत्र छाडेर हिडेका ठेकेदार डाँगी अझै फर्केनन काममा

देशको आवाज
११ फागुन २०८० १८:३७

काठमाडौं,११ फागुन । कालिगण्डकी नदीमाथि निर्माणाधिन अवस्थामा रहेको पुलको काम अलपत्र छाडेका काठमाडौं बस्दै आएका ठेकेदार युवराज डाँगी अझै काममा फर्किएका छैनन् । फागुन लाग्नसाथ निर्माणकार्य पुनः सुचारु गर्ने लिखित प्रतिवद्धता जनाएका ठेकेदार डाँगीले आफ्नै प्रतिवद्धता कुल्चदै अलपत्र पारेको काममा फर्कने सुरसारै नगरेका हुन् ।

गाउँपालिकाका जनप्रतिनिधिको प्रतिनिधि मण्डलले पुल निर्माणकार्य पुनः सुचारु गर्ने प्रतिवद्धतासहित हस्ताक्षेर गराएर फर्कीएपनि ठेकेदार काममा नफर्किएको बौंदीकाली गाउँपालिका अध्यउक्ष प्रकाश ओझाले बताए । २०७३ सालमा ठेक्का लिएको महाबिरगुरु पार्वती–निलगिरी जेभी काठमाडौंका ठेकेदार प्रतिनिधि डाँगीले पुल सेक्टर कार्यालयबाट पटक पटक ताकेता हुँदा निर्माण व्यवसायिले ढिला भएको कुरा स्वीका गर्दै तत्काल काम थाल्ने प्रतिवद्दता जनाएका थिए । सो प्रतिबद्धता पत्रमा लेखिएको छ –‘निर्माण व्यवसायिले २०८० माघ २४ गत देखि एक हप्ताभित्र पुल निर्माण कार्य पुनः सूचारु गर्ने प्रतिबद्दता व्यक्त भयो । अन्यथा कार्यालयले कानुनबमोजिम कारबाही प्रकृया अगाडि बढाउने सहमति भयो ।’

कालिगण्डकी नदीमा अबस्थित बौँदी काली गाउँपालिका–३ नवलपुर र घिरिंग गाउँपालिका–१ तनहुँ जोड्ने निर्माणाधिन पुलका ठेकेदार डाँगी अझै काममा नफर्कीर जनप्रतिनिधिलाई नै ढाँटेको गाउँपालिकाका प्रतिनिधिहरुले बताएका छन् । भौतिक प्रगति सन्तोषजनक नभएको, पुल बनाउन ढिला गर्दा नागरिकलाई समस्या भएको उक्त पुल निर्माण कार्यलाई समयमै सक्न पटक पटक ताकेता गर्दा पनि कामले गति लिन नसकेको पालिका अध्यक्ष प्रकाश ओझाले बताए ।

पछिल्लो पटक गत माघ २४ नै एक हप्ताको समय सिमा नै तोकेर उनले पुनः निर्माणकार्य सुचारु गर्ने बताएका थिए । सो प्रतिवद्दता पत्रमा संघीय सुपरिवेक्षण तथा अनुगमन कार्याल पोखराका प्रमुख शुभराज न्यौपाने पुल सेक्टर पोखराका योजना प्रमुख ज्ञानेन्द्रप्रसाद कलौनी, बौँदी काली गाउपालिकाका अध्यक्ष प्रकाश ओझा, सोही गाउपालिका वडा नम्बर २,३ र ५ का वडा अध्यक्ष तथा पत्रकारहरु समेतको उपस्थिति रहेको छ । सडक विभागमा भएको सहमति कार्यन्वायन नभएको विषयमा ठेकेदार डाँगीले केही दिनभीत्रै निर्माण स्थलमा पुगेर काम शुरु गर्ने बताएका छन् ।