नेपाल–जापानका मेयरबीच दौत्य सम्बन्धको तयारी

देशको आवाज
२ जेठ २०८१ १७:५०

काठमाडौं । जापानको ओईजुमी नगरपालिकासंग नेपालस्थित ललितपुर महानगरपालिका र सिद्धिचरण नगरापालिकाबीच भगीनी सम्बन्ध स्थापना गर्दै आपसी सहयोग आदान प्रदान गर्ने विषयमा छलफल अघि बढेको छ । ओईजुमी नगरपालिका मेयर तोषीआकी  मुरायामा, ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जन र सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनालबीच बुधबार ललितपुर महानगरपालिकामा छलफल भएको हो ।

सो छलफलमा ओईजुमी नगरपालिकाका मेयर तोषीआकी मुरायामासँग ललितपुर महानगर र ओखढुंगाको सिद्धिचरण नगरपालिकाका प्रमुखद्धय महर्जन र खनालले आ–आफ्नो नगरपालिकाको आर्थिक, सामाजिक, सांस्कृतिक अवस्थाको बारेमा जानकारी गराए । छलफलमा ओईजुमीका मेयर मुरायामाले आफुले नेतृत्व गरेको नगरपालिका सानो भएपनि आर्थिक रुपमा समृद्द रहेको भन्दै अन्य मुलुकका स्थानीय सरकारसँग आवश्यक सहकार्य गर्न सकारात्मक रहेको बताए । उनले ओईजुमी नगरपालिकामा उत्पादन भएका अबौं रुपौया बराबरका सामानहरु अन्य देशमा निर्यात हुने गरेको जानकारी दिए ।

नेपालका स्थानीय सरकारसँग सम्बन्ध सुदृढ गरेर सहयोग आदान प्रदान गर्न सकिने विश्वास व्यक्त गर्दै उनले आपसी मैत्रीपूर्ण सम्बन्धकालागि तयार रहेको बताए । उक्त नगरपालिकामा ५३ देशका नागरिक बस्ने र सबैभन्दा बढी नेपालीहरु बसोबास गर्ने गरेका मेयर मुरायामाले जानकारी दिए । जापानमा केन्द्रीय सरकारले स्थानीय सरकारको कुराहरुलाई विश्वासकासाथ सुन्ने अवस्था रहेको उनको भनाई छ ।

द्धीपक्षीय छलफलमा मेयर महर्जनले ओईजुमी नगरपालिकाको भुगोल, अर्थतन्त्र निकै राम्रो र व्यवस्थित रहेको प्रसंसा गर्दै आफुहरुले पनि ओईजुमाका राम्रा कुराहरुलाई ललितपुर महानगर र सिद्धिचरण नगरपालिकाले पछ्याउँने ल्याउने बताए । जापानको नगरपालिकासँग भगीनी सम्बन्ध राख्न ललितपुर र सिद्धिचरण नगरपालिका सकारात्मक भएको भन्दै मेयर महर्जनले विभिन्न कार्यक्रममा सहकार्य गर्न अनुरोध गरे । भगीनी सम्बन्धकालागि आवश्क प्रकृया अघि बढाउन आपसी समझदारी पत्रमा हस्ताक्षर गर्न सकिने र असल अभ्यासहरु आदान–प्रदान गर्न सक्ने महर्जनको भनाई छ ।

त्यस्तै सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनालले दुई नगरपालिकाबीच भगीनी सम्बन्ध कायम गरेर सहकार्य आदन प्रदान गर्नका लागि सहकार्य अघि बढाउन अनुरोध गरे । शिक्षा, स्वास्थ्य र शहरी विकासमा सहकार्य गर्न सकिने उनले विश्वास व्यक्त गरे । दुई देशका स्थानीय सरकारबीच दौत्य सम्बन्ध कायम गर्ने विषयमा गरिएको छलफललाई लोकतान्त्रिक खेलकुद महासंघका केन्द्रीय सदस्य सम्मर बहादुर गिरीको समन्वय गरेका हुन् । गिरी सहित नेपाली साझा समाज जापानका अध्यक्ष बुद्धि शेरचन र महासचिव निरज गुरुङले आवश्यक समन्वय गरेका छन् । छलफलमा ओईजुमी नगरपालिका विभिन्न विभागीय प्रमुख, ललितपुर महानगरपालिकाका कर्मचारी र पत्रकारहरु समेतको सहभागीता रहेको थियो ।