गठबन्धनमा प्रदेश भागवण्डा

प्रदेश भागवण्डा एमाले, माओवादी, जसपा र नाउपाबीच सहमति गर्ने तयारी,नेकपा एस असन्तुष्ट

देशको आवाज
१२ चैत २०८० १९:४४

काठमाडौं,१२ चैत्र । सत्ता गठबन्धनमा प्रदेश भागवण्डा एमाले, माओवादी, जसपा र नाउपाबीच सहमति गर्ने तयारी भएको छ । पाँच दलीय गठबन्धनमा नेकपा एसलाई बाहिर राखेर प्रदेश सरकारमा चार दलले मुख्यमन्त्री लिने तयारी गरेपछि नेकपा एस असन्तुष्ट बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा सोमबार बसेको शीर्ष तीन नेताबीच प्रदेश सरकारको नेतृत्व लेनदेनमा मोटामोटी सहमति नजिक पुगेको बताइएपनि नेकपा एस उक्त सहमतिमा सहभागी नरहेको सो दलका नेता जग्गनाथ खतिवडाले बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमारसँग छलफल गर्नुभएका प्रधानमन्त्री प्रचण्डले अब बस्ने सत्ता साझेदार दलहरुको बैठकले भागबण्डा टुंगो लगाउने तयारी भएको पार्टीको बागमती प्रदेश कमिटीको बैठकमा भन्नुभएको नेकपा माओवादीका सचिव देवेन्द्र पौडेलले बताए । प्रधानमन्त्रीको सचिवालय श्रोतका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले लिने तयारी छ ।

त्यस्तै बागमती र लुम्बिनी माओवादी र मधेश प्रदेशमा जसपालाई दिनेगरी मोटामोटी टुंगो लागेको छ । सुदूरपश्चिममा मुख्यमन्त्री नाउपालाई दिएर भएपनि लुम्बिनीमा समर्थन जुटाउने दलहरुको तयारी छ । यद्यपी प्रदेश भागबन्डामा पनि नेकपा एस बाहिर रहने अवस्था आएकाले वर्तमान सत्ता गठबन्धनसँग उक्त दल सन्तुष्ट नदेखिएको नेताहरुको दाबी छ । सात प्रदेश मध्य एउटा प्रदेशको मुख्यमन्त्री आफ्नो दलले पाउनुपर्ने नेकपा एसको दाबी रहेको पार्टी प्रबक्ता जगन्नाथ खतिवडाले बताए ।