संगठन सुदृढीकरण यात्रा

कपुरकोटदेखी सिमिकोट सम्मका नागरिकसंग साक्षत्कार गर्दै कांग्रेस नेता शाही

देशको आवाज
१५ चैत २०८० २२:१७

सुर्खेत, १५ चैत्र । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाही युवाहरुमाझ एक लोकप्रिय नाम हो । पार्टी संगठनलाई गतिशिलता प्रदान गर्नसक्ने नेता शाही अहिले कर्णलीको संगठन सुदृढीकरण अभियानमा निस्कीएका छन् । पछिल्लो समय राजनीतिमा काम भन्दा कुरा बढी गर्ने, जनताको समस्या समाधानका उपायहरु खेज्ने भन्दा हो हल्लाबाटै मन जित्ने चलन बढीरहेको अवस्थामा नेता शाही पार्टी संगठनको अवस्था बुझ्दै उनिहरुको आवश्यकता पहिचान गर्ने योजनाकासाथ कर्णलीको यात्रामा लागेका हुन् ।

राजनीतिक गतिविधिमा निरन्तर सक्रिय भएर केहि न केहि गरिरहने, उर्जाशील युवा नेताकोरुपमा स्थापित शाही नेविसंघको उपाध्यक्ष र नेपाल तरुण दलको महासचिव भईसकेका व्यक्ति हुन् । नेविसंघको उपाध्यक्ष र तरुण दलको महासचिव हुँदा भेला, अन्र्तक्रिया, पुस्तक लेखन, गीत लेखन लगायतको माध्यामबाट कांग्रेसलाई योगदान गरेका शाहीले देशैभरि प्रशिक्षण अभियान चलाएर मेची–महाकाली गरिसकेका छन् । राजनीतिसँगै साहित्य, सामाजिक सेवालगायत विधामा सक्रिय उनले केही महिना अघिमात्रै देशैभरिका युवाहरुको सहभागितामा युवा विचार सम्मेलन, उद्यमशील र सिर्जनशील युवा सम्मेलनका नाममा बृहत युवा भेला समेत गरेका थिए ।

आपत विपदमा पीडितको आगनमा पुगिहाल्ने शाहीले कोरोना महामारीको बेलामा १० हजार भन्दा बढीलाइ असहायलाई निःशुल्क भोजन गराउनुका साथै मेलम्ची बाढीपीडितका लागि करिव २५ लाख बराबरको सहयोग जुटाउन सफल भएका थिए । त्यस्तै जाजरकोटमा भुकम्प पीडितहरुका लागि राहत र बेपत्ता, घाईतेको उद्दारमा महत्वपूर्ण योगदान गरेका थिए । नेपाली कांग्रेसले थालेको रुपान्तरण अभियानमा पश्चिम धनगढीदेखि पूर्व ताप्लेजुङसम्म पुगेका उनी पुनः कर्णालीमा कांग्रेसको संगठन सुदृढ यात्रामा निस्किएको बताउँछन् । नेपाली कांग्रेस संगठन सुदृढ यात्रा’ लाई सल्यानको कपुरकोटदेखी हुम्लाको सिमिकोटसम्मको तय गरिएको उनले बताए ।

कर्णालीको कठिन भुगोल, पहाडी र हिमाली विकट वस्ति र गाउँ गाउँमा अप्ठ्यारो बाटोको चुनौतिपूर्ण यात्रामा उनी पार्टी संगठनको चिन्ता र चासोले खटिइरहेको बताउँछन् । आम चुनाव र पार्टीका आन्तरिक अधिवेशनमा मात्रै देखिने नेताहरु पछिल्ले समय जिल्ला र गाउँ–गाउँ पुग्दा स्थानीयहरुमा समेत उत्साह थपिएको यात्रामा सहभागि नेताहरुले बताएका छन् । कांग्रेसलाई सशक्त, सवल, लोकप्रिय, बलियो र गतिशील पार्टी निर्माणका लागि सल्यान कपुरकोटदेखी हुम्ला सिमीकोटसम्मको पार्टी संगठन सुदृढ यात्रा अभियानमा रहेका नेता शाहीलाई सल्यान कपुरकोटदेखी हुम्ला सिमिकोट सम्मका स्थानीयले भव्य स्वागत गरेको उनको सचिवालयले जनाएको छ ।

शाहीले सल्यान, रुकुम, डोल्पा, जाजरकोट, दैलेख पुग्दा त्यहाँका पार्टी सभापति, पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला र स्थानीय तह लगायतका कांग्रेस नेता तथा कार्यकर्ताहरुसँग भेटघाट अन्र्तक्रिया गरेका छन् । गत चैत्र २ बाट सल्यानको कपुर कोटबाट सुरु गरेको यात्रामा नेता शाहीले कांग्रेसको गौरवशाली इतिहास सम्झीएर अनुभवी पुस्तालाई सम्मान र युवापुस्ताको उर्जालाई पार्टीको शक्तिका रुपमा लिने बताएका छन् । उनको यो यात्राले कर्णलीको कांग्रेसमा सकारात्मक सन्देश दिएको छ ।

नागरिकको पक्षमा कांग्रेसको अर्जुनदृष्टि – भुपेन्द्रजंग शाही

कर्णलीको संगठन सुदृढ अभियानमा रहेका नेपाली कांग्रेस नेता भुपेन्द्रजंग शाहीले अब नेपाली कांग्रेसले सत्ता केन्द्रीत नभई जनकेन्द्रीत हुनुपर्ने बताएका छन् । ‘कांग्रेसको अर्जुन दृष्टिमा कुर्चि होइन कि नागरिक हुनु पर्छ’, शाहीले भने–‘जनताको जीबन शैली परिवर्तन गर्ने गरि काम गर्नु पर्छ । सर्बसाधरणको निन्याउरो अनुहारमा अलिकति भएपनि खुसि ल्याउने गरि कांग्रेसले कदम चाल्नु पर्छ ।’

संगठन सुदृढ यात्रामा सल्यान, रुकुम पश्चिम, डोल्पा, जाजरकोटहुँदै दैलेख पुगेका शाहीले कर्णालीको समग्र विकास र समृद्धिकालागि कर्णाली प्रदेश र मुलुकमा कांग्रेसकै सरकार निर्माण गर्ने गरी जनमत निर्माण गर्न जरुरी रहेको बताए । साथै उनले आगामी निर्वाचनमा कांग्रेस एक्ले चुनाव लड्नेगरी संगठन निर्माणमा लाग्न सबै नेता कार्यकर्ताहरुसँग आग्रह समेत गरे । कर्णालीका बिभिन्न स्थानीय तहसम्म पुगेर भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेका शाहीसँग सल्यानका सभापति केशबहादुर बिष्ट, कुशे गाँउपालिकाकी उपाध्यक्ष देविका सिंह, चुर्नबहादुर केसी, मनराज शाही लगायतको टोली थियो । ‘अब अरुको बैशाखी टेकेर होइन, आफ्नै बलमा सरकार बनाउने ताकत निर्माण गर्नु पर्छ’, उनले भने–‘अब धोकेबाज मओवादीसँग गठबन्धन गर्ने होइन कि आफ्नै पार्टी भित्र मनको बन्धन बलियो बनाउनु पर्छ ।’

 

यात्राका क्रममा नेपाली कांग्रेसको अग्रज पुस्तादेखि युवा पुस्तासम्म सबै तहका नेता तथा कार्यकर्ताहरूसँग गरिएको भेटघाट, अन्तरक्रिया मार्फत पार्टीमा नयाँ उर्जा र भरोसा थपिएको उनले बताए । ‘यो अभियान पार्टीलाई जनतासँग र जनतालाई पार्टीसँग जोड्ने पुलको रुपमा काम गर्नेछ । प्राय सबै तहका नेताहरु चुनाव र अधिवेशनका बेला मात्र गाउँ केन्द्रीत हुन्छन । अधिवेशन सकिए पछि पार्टीमा निस्क्रियता र शिथिलता छाउछ तर म कर्णाली प्रदेशमा सभापतिको प्रत्यासी हुनुको नाताले आफ्नो पनि केही कर्तव्य र दायित्व बोध गरी पार्टीलाइ चलायमान बनाउन संगठन सुदृढ यात्रा थालेको हुँ । यो यात्रा कुनै समुहमा केन्द्रीत होईन, सिंगो पार्टी र आम नागरिकहरुलाई कांग्रेस प्रतिको आशा देखाउनु हो ।’ नेता शाहीले अहिले गुटबन्दी गर्ने बेला नभई सबै कांग्रेस एकजुट भएर कांग्रेसका बिरुद्ध भएको घेराबन्दीको प्रतिवाद गर्नुपर्ने अवस्था आएको बताए ।