वीरेन्द्रनगर नगरपालिकाकाे डाेजरमाथि व्यापारीकाे ढुंगा प्रहार

देशको आवाज
३० फागुन २०८० १२:४८

सुर्खेत,३०फागुन ।  सार्वजनिक सूचना निकालेर संरचना भत्काउन अनुरोध गरे पनि व्यवसायीहरूले अटेर गरेपछि वीरेन्द्रनगर नगरपालिका आफैले आज डोजर चलाएको छ । वीरेन्द्रनगर नगरपालिका ६ को हङकङ बजार, हटियालाइन र गोदामलाइन क्षेत्रमा नगरपालिकाले डोजर चलाएको हो ।

नगरपालिकाको डोजर आइसकेपछि केही व्यापारीले सामान उठाउन थाले पनि केही व्यापारी भने प्रतिकारमा उत्रिएका छन् । व्यापारीले ढुङ्गा मुढा हानेपछि नगरपालिकाको डोजरको सिसा फुटेको छ । झडपको स्थिति सृजना भएपछि नगरपालिकाको डोजर पछि हटेको छ ।

स्थानिय व्यापारीले प्रहार गरेको ढुगां लागेर एक कर्मचारी घाइते भएका छन् । यी सबै गतिविधि भइरहँदा नेपाल प्रहरी भने माथिबाट आदेश नआएको भन्दै मुकदर्शक बनेको छ ।माघ १७ गते नगरपालिकाले उक्त क्षेत्रमा व्यापारीहरूलाई आफ्ना संरचना भत्काई त्यहाँबाट हट्न अनुरोध गरेको थियो ।

नगरपालिकाले निकालेको सूचना फागुन २३ गते सकिएको छ । त्यसपछि मंगलबारसम्म समयावधि तोकिएको थियो । तर, व्यवसायीहरू संरचना हटाउनुको साटो आन्दोलनमा उत्रिएका थिए । यो क्षेत्रमा १२५ जना साना व्यवसायीहरूले व्यापार गरिरहेको छन् ।