गठबन्धन तोडेर माओवादीले मतदातालाई धोका दियो – उपसभापति खड्का

देशको आवाज
२७ फागुन २०८० २१:१७
सुर्खेत, २७ फागुन ।  नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन तोडेर नेकपा ९माओवादी केन्द्र०ले मतदातालाई राजनीतिक रुपमा ठूलो धोका दिएको बताएका छन् । नेपाली कांग्रेसलाई मात्र नभई निर्वाचनका बेला मतदातालाई दिएको बचनबाट माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट राजनीतिक रुपमा ठूलो धोका भएको उनको भनाई छ ।
आइतबार नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ सुर्खेतको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै उपसभापति खड्काले  तीन तहका सरकार बनाउँदा जनतासँग गरिएका बाचाका विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए ।  “कांग्रेससँगको गठबन्धन तोड्नुको कारण राजनीतिक दृष्टिकोणले प्रचण्डले आफ्ना धारणा राख्नुहोला”, उनले भने “तर, तीन तहका सरकार बनाउँदा निर्वाचनका बेला जनतासँग गरेका बाचाको जवाफ उहाँले दिनुपर्छ ।”
 निर्वाचनका बेला संविधानले जनतालाई दिएको अधिकार कार्यान्वयन गर्ने, आवश्यक कानुन निर्माण गरेर संघीयता कार्यान्वयन गर्ने, पाँच वर्षमा आम मतदातालाई उन्नति र प्रगतिको बाटोमा अघि बढाउने बाचा गरेर जनतासँग मत मागिएको  उनले स्मरण समेत गरे ।  असंवैधानिक तरिकाले पटक–पटक संसद् विघटन गर्ने, संघीयता कार्यान्वयन नगर्ने, संविधानलाई गलत बाटोतर्फ लैजाने, लोकतन्त्रलाई अन्य दिशातर्फ मोड्न थालिएपछि संविधानको रक्षा, संघीयता कार्यान्वयन र मुलुकको आर्थिक उन्नति र प्रगतिका लागि विचार मिल्ने राजनीतिक शक्तिहरु प्रतिगमनका विरुद्ध मिलेर तीनै तहको निर्वाचनमा जनतासँग मत मागिएको उनको भनाई छ ।
निर्वतमान उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका खड्काले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले जनताको शीर नझुक्ने गरेर काम गरेको दाबी  गरे । “एघार महिना हामी सरकारमा रहँदा मुलुक र पार्टीको अहित हुने गरेर कुनै पनि काम गरेका छैनौँ । बाँकी कुराहरु समयक्रममा राख्दै जाउँला”, उनले भने ।