प्रचण्ड–केपीबीच छलफल तीब्र

गठबन्धनको ‘खटपट’ साम्मे पार्न ओली–दाहाललाई ‘जाँतोमुनीको बास’

जीवन शर्मा
२० वैशाख २०८१ १९:१३

काठमाडौं । सत्तारुढ गठबन्धनभित्र पछिल्लो समय असामान्य रुपले बढेको खटपटलाई साम्मे पार्न प्रधानमन्त्री प्रचण्ड र सत्तासाझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ठूलो संकट आइपरेको छ । ओच्छ्यान माथि सानो डोरीले झुण्ड्याएको ठूलो जाँतोमुनी सुत्नुपर्दा कतिखेल झरेर सिध्याउँछ भन्ने त्रासले निदहराम भएजस्तै यो गठबन्धनमा देखिएको तीकड्मले शीर्ष नेताहरुमा छटपटी चलेको हो ।

आन्तरिक खटपट व्यवस्थापन गर्ने कुरामा सत्ताको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मुख्य सहयात्री दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गठबन्धनकै सहयात्री दल नेकपा एसका अध्यक्ष माधव नेपाल र जसपाले समेत निकै चुनौति बढाएका हुन । सोही विषयलाई लिए र दुई नेताबीच बिहीवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई घण्टा भन्दा बढी छलफल भयो ।

बिहान ११ः४० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका एमाले अध्यक्ष ओली दिउँसो १ः५३ बजे भेटवार्ता सकेर सिंहदरबारबाट बाहिरिएका थिए । बाहिरिनेक्रममा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए । प्रचण्ड–ओलीले फागुन २१ मा नयाँ सत्ता समीकरण गरेपश्चात विश्वासको मत पुर्याउँनकालागी पटक पटक घर पुगेर सत्तासहकार्यमा जोडेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनप्रति चरम असन्तुष्टि पोख्दै आएका छन । शीर्ष दुई नेताको बिहीबारको भेटमा गठबन्धनमा माधव नेपालको असन्तुष्टि, प्रदेश सरकार गठन र विश्वासको मत प्राप्तिमा देखिएका समस्या, उपनिर्वाचनको समिक्षा र बजेट अधिवेशन लगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ ।

एकीकृत समाजवादीका नेताहरूले आलोपालोमा प्रधानमन्त्री लेनदेनको सहमति भएको बताएपछि ओलीले संसदमै खण्डन गरेको विषयलाई पनि नेकपा एसका नेताहरुले राजनीति ‘कोर्स करेक्सन’को एजेन्डा बनाउन खोजेका छन । सत्ता समीकरण फेर्दा ओली र प्रचण्डले माधव नेपाललाई एक वर्ष प्रधानमन्त्री दिने मौखिक सहमति गरेका थिए । पछि ओलीले माधव नेपाललाई प्रधानमन्त्री बन्न नदिने चाल चालेपछि आफूहरूसँग गरिएका सहमति र बाचा कार्यान्वयनमा ओली अनुदार बनेको एकीकृत समाजवादीको निष्कर्ष छ ।

एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले वैशाख १७ गते सार्वजनिक रुपमै आफू प्रधानमन्त्री बन्ने कुराले कतिपयलाई पोल्ने गरेका बताएका थिए । माधव नेपाल कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर कसैलाई पोल्न थालेको छ भन्दै नेपालले भनेका थिए–‘हामी प्रधानमन्त्री बन्छौँ भनेर कतिपयलाई पोल्न थालेको छ । पोल्ने मान्छेहरू पनि छन् यो समाजमा, पोले पोलोस्, दनदनी आगोले पोलोस्, त्यस्ता प्रवृत्ति बोक्नेहरूलाई धिक्कार छ । त्यो भएकाले परिस्थिति हाम्रो अनुकूल बनाउने कुरामा ध्यान जानुपर्छ ।’

त्यसपछि १८ गते प्रधानमन्त्री प्रचण्डले नेपाललाई बालुवाटार बोलाएर छलफल गरेका थिए । उक्त छलफलको विषयलाई लिएर राजनीतिक बृत्तमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासमा लिएर एकीकृत समाजवादीले वैकल्पिक गठबन्धनका लागि अग्रसरता लिएको चर्चा समेत चल्न थालेको छ । सत्ता गठबन्धनकै अर्को दल जनता समाजवादी समेत यो गठबन्धनप्रति सन्तुष्ट छैन् । सो दलका अध्यक्ष उपेन्द्र यादवसँग समेत गठबन्धन परिवर्तनका सन्दर्भमा नेकपा एसका नेताहरुले निरन्तर संवाद अघि बढाएको बताइएको छ । पुरानो गठबन्धन ब्युँताएर माधव नेपाललाई प्रधानमन्त्रीमा अगाडि सार्ने विषयमा मंगलबार सिंहदबारस्थित जसपाको संसदीय दलको कार्यालयमा नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले जसपाका शीर्ष नेतासँग छलफल गरेका थिए ।

सत्तारुढ गठबन्धनमा देखिएको यो समस्या समाधान गर्दै सबैलाई मिलाएर लामो समय सरकार चलाउने विषय प्रधानमन्त्री प्रचण्डलाई पेचिलो बन्दै गएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले बताए । ‘यो सत्ता लामो समय जाँदैन’, भण्डारीले भने–‘यो केवल सत्ता स्वार्थका लागी मात्रै बनेको गठबन्धन हो । यसले जनतालाई दिने सेवा प्रवाह र सुशासन अत्यान्त कमजोर छ । ओलीजीले माधव, उपेन्द्र लगायत नेताहरुलाई सरकारमा रहेको महसुस नै गर्न दिनुहुन्छ अनि उहाँहरु कसरी त्यो गठबन्धनमा टिक्नुहुन्छ ?’ गठबन्धन भित्र आएको समस्याको फाइदा लिने दाउमा रहेको कांग्रेसले वर्तमान सरकारको आयु छोटीदै गएको दाबी गरेको छ । प्रतिपक्षले यस्तो दाबी दोहोर्याइरहँदा नेकपा एसले प्रदेश सरकारमा भागबन्डाको विषयलाई लिएर गठबन्धनका मुख्य घटक एमाले–माओवादीले गरेका निर्णयहरु उल्ट्याउँदै आउनुले गठबन्धन टिक्नेमा थप शंसय उत्पन्न भएको सत्ताधारी दलकै कतिपय नेताहरुले प्रतिकृया दिएका छन् ।

 नेकपा एसका मुख्यमन्त्री सोडारीप्रति विश्वासको संकट

यसैबीच नेकपा एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ती पार्टीको सहयोगमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनेका नेकपा एसका नेता दीर्घबहादुर सोडारीले सत्ता साझेदार दलमा छलफल नै नगरी बिहीबार विश्वासको मत लिने तयारी गरेपछि एमाले र माओवादी रुष्ट बनेका छन् । मुख्य मन्त्री बनाउने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग मिलेर आफ्नै नेतालाई अघि सारेको नेकपा एसलाई गठबन्धन बचाउने नाममा प्रचण्ड–ओलीले स्वीकारर्दै समाजवादीका नेता दीर्घबहादुर सोडारी मुख्यमन्त्री बनाएका थिए ।

‘छलफल र सहमतिविनै उहाँहरूले विश्वासको मत लिने भनेर बैठक आह्वानको तयारी गरेका छन’, एमाले सुदूरपश्चिम प्रदेशसभा सदस्यहरुले भने ‘तर हामीलाई थाहा नै छैन । छलफल नै नगरी बोलाएको भोलीको बैठक सर्न सक्छ । यदि सरेन भने हामी विश्वासको मत दिन सक्दैनौ ।’ उता बझाङ प्रदेशसभा सदस्यका लागि वैशाख १५ मा भएको उपनिर्वाचनमा समेत एकीकृत समाजवादीले सहमति विपरीत एमाले उम्मेदवार हराउन लागेकाले सुदूरपश्चिम सरकारबारे सोच्नुपर्ने अवस्था आएको नेताहरुले बताए ।

‘उपनिर्वाचनमा एकीकृत समाजवादी र एमाले नेताहरूबिच एमाले उम्मेदवारलाई सहयोग गर्ने सहमति भएको हो’ एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले भने –‘तर उहाँहरू एमाले उम्मेदवारलाई नै हराउन लाग्नुभयो । सहमति एउटा, काम अर्को भएपछि गठबन्धनभित्रको एउटा दल नेकपा एसप्रति विश्वासमा सङ्कट थपिएको छ ।’