कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका समेत प्रेस स्वतन्त्रता हनन गर्न लागेका छन् -अध्यक्ष पोखरेल

देशको आवाज
२१ वैशाख २०८१ ११:४५

काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले कार्यपालिका र व्यवस्थापिका र न्यायपालिकाले समेत प्रेस स्वतन्त्रता हनन गर्न लागेको बताए । यो वर्ष राज्य र गैरराज्यपक्षबाट ६२ वटा प्रेस स्वतन्त्रता हननका घटना भएको बताउदै पोखरेलले कार्यपालिका र व्यवस्थापिका मात्रै नभएर न्यायपालिकाले समेत प्रेस स्वतन्त्रतामाथि अप्ठ्यारो पार्ने खालको निर्णय गर्न थालेको भन्दै टिप्पणी गरेका हुन ।

विश्व प्रेस स्वतन्त्रता दिवस २०२४ को अवसरमा आज अध्यक्ष पोखरेलले यो वर्ष प्रेस स्वतन्त्रता हननका विभिन्न ६२ वटा घटना भएको जानकारी दिए । पोखरेलले भने, ‘२०८० मे ३ देखि २०८१ मे ३ सम्मको रिपोर्ट हेर्दा ६२ वटा प्रेस स्वतन्त्रता हननका घटनाहरू भएका छन् । त्यहाँ राज्य र गैर राज्य दुवै पक्षबाट भएको घटना उल्लेख छन् । धम्की, दुर्व्यवहार, गिरफ्तारी, कब्जा पेसागत सुरक्षा,जस्ता विषयबाट थुप्रै पत्रकारहरू पीडित बनेको अवस्था छ ।’ अध्यक्ष पोखरेलले न्याय पालिकाले समेत प्रेस स्वतन्त्रतामाथि अप्ठ्यारो पार्ने गरी निर्णय गर्न थालेको र त्यसले राज्यका हरेक अङ्गले प्रेसप्रति अनुदारता बन्दै गइरहेको भन्दै आजको दिनमा प्रेस स्वतन्त्रताको मुद्दा अझ बढी छलफलको विषय बनेको बताए ।

‘अहिले पनि कार्यपालिका,व्यवस्थापिका मात्रै होइन न्यायपालिकाका निणर्यहरु पनि प्रेस स्वतन्त्रतालाई कतै कतै अप्ठ्यारोमा पार्ने डङ्गको आउन थालेका छन् । यसले गर्दा खेरी राज्यका हरेक संरचनाहरू र राज्यका स्टेकहोल्डरहरु प्रेसप्रति अनुदार बन्दै गैराखेको बेलामा आजको दिनमा हामीले प्रेस स्वतन्त्रताको मुद्दालाई अझ विशेष छलफलको विषय बनाउने र यसमा साझा धारणा निर्माण गर्ने र प्रेस स्वतन्त्रताको सशक्त अभ्यास गर्ने सन्दर्भमा बलियो आत्मविश्वास प्राप्त गर्ने दिनका रूपमा आजको दिनलाई मनाउनुपर्ने छ ।’ यस्तै, पोखरेलले आफ्ना क्षेत्रको कमजोरीलाई हटाउँदै सञ्चार क्षेत्रलाई श्रम शोषण मुक्त क्षेत्रको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।