महामन्त्री थापाको प्रस्तावमाथि सभापति देउवा पक्षको घेराबन्दी

देशको आवाज
९ फागुन २०८० २१:०९

काठमाडौं,९ फागुन । नेपाली कांग्रेसको महासमितिको बैठकमा गठबन्धनबारे अहिले बोल्न आवश्यक नभएको नेताहरूले सुझाव दिएका छन् । महामन्त्री गगन थापाको सांगठनिक प्रस्तावमा आगामी चुनावमा गठबन्धन नगर्ने संकल्प गरेर जानुपर्ने प्रस्ताव आएपछि संस्थापन पक्षमा नेताहरूको थापाको प्रस्तावमाथि घेरा बन्दी गर्न खोजेका हुन् । सुनसरी जिल्ला सभापति केदार भण्डारीले आफ्नो मान्छे परे गठबन्धन ठीक नपरे बेठीक भन्ने परिपाटी अन्त्य गरिनुपर्ने बताउनुभयो ।

कोशीमा कांग्रेसले गठबन्धन गरेर गल्ती नभएको जिकिर गर्दै उहाँले भन्नुभयो– ‘एमालेलाई कमजोर पार्न सक्नुपर्छ । माओवादीलाई धेरै बिच्काउनु हुन्न । गठबन्धन तलमाथि नबनोस् । गठबन्धन गर्न हुन्नहुन्न भन्ने कुरा अहिले यहाँबाट गर्न हुन्न । धेरै कुरा जिल्लालाई बाइपास गरेको देखिन्छ । सभापतिले जिल्ला समितिमा संस्थागत छलफल गरेर आउनुपर्छ । जिल्लालाई कमजोर बनाएर केन्द्रले निर्णय गर्दा कार्यकर्ताको मन दुःखेको हुन्छ । नामकरणको विषयमा पनि स्पष्ट पारेर जानुपर्छ कोशीमा सहज वातावरण बनाउन लाग्न अनुराध छ ।’ त्यस्तै झापाका सभापति देउमान थेवेले गठबन्धनको कुरा छुन नहुने तर्क गर्नुभएको छ । गठबन्धनको कुरा ८३ तिर गर्दा हुने भन्दै उहाँले गठबन्धनकै कारण ७ प्रदेशमा सरकारमा रहेको दाबी गर्नुभयो । ‘गठबन्धन अस्ति नहुँदा हाम्रो ओठमुख सुकेको थियो । सातै प्रदेश र संघ जाँदा के हुन्छ ? केपी ओलीले अर्को गठबन्धन गर्ने भनिसके ।’ उहाँले भन्नुभयो ।

गठबन्धन तत्कालीन आवश्यक्ता भएकाले ८४ सम्म देशमा के–के हुन्छ त्यसै अनुसार अघि बढ्नुपर्ने उहाँको भनाई छ । सभापति शेरबहादुर देउवाले बैठक उद्घाटनकै दिन सोमबार दिएको अभिव्यक्तिलाई नै देउवा पक्षका अधिकांश महासमिति सदस्यहरुले छलफलमा दोहोर्याएका छन् । रुपन्देही जिल्ला सभापति गठबन्धन आधारभुत आवश्यकता भएको बताउनुभयो । प्युठान जिल्ला सभापति विष्णु गिरीले गठबन्धन महासमिति बैठकमा प्रवेश पाउनु गलग भएको भन्दै उहाँले भन्नुभयो–‘गठबन्धनको विषय महासमिति बैठकमा घुसाउनु हुँदैन थियो ।’

त्यस्तै रसुवाका सभापति पेम्बा छिरिङले पार्टीले केन्द्रले गठबन्धनबारे जबरजस्ती निर्णय लिन नहुने बताउनुभयो । ‘गठबन्धनबारे आवश्यकताका आधारमा निर्णय लिनुपर्छ । जित्ने–हार्न अवस्था जिल्लालाई थाहा हुन्छ, त्यसका आधारमा नै गठबन्धन गरिनुपर्छ’, उहाँले भन्नुभयो । स्याङजाका सभापति राजु थापाले जनताको म्यान्डेट अनुसार गठबन्धन गरिएको उल्लेख गर्दै चार वर्षपछि गठबन्धन गर्ने कि नगर्ने भन्‍ने विषय अहिले नै निर्णय गर्नुपर्छ भन्‍नु उपयुक्त नहुने धारण राख्नुभयो ।