इलाम –२ उपनिर्वाचन

शाख जोगाउँने र सिट थप्ने प्रतिष्पर्धामा दलहरु

जीवन शर्मा
१८ चैत २०८० २३:०७

काठमाडौं,१८ चैत्र । आगामी बैशाख १५ मा हुने इलाम –२ को उपनिर्वाचनमा पुराना र नयँ दलहहरु शाख जोगाउने र सिट थप्ने प्रतिष्पर्धामा कम्मर कसेर लागेका छन् । सोही क्षेत्रका सांसद पूर्व सभामुख एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको देहवासनपछि हुन लागेको उपनिर्वाचनका लागि २० वटा दलले दलदर्ता गरेर चुनावी अभियानमा लागेका हुन् ।

बिराशत जोगाउन एमालले सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमालेले निरन्तर जित्दै आएको इलामा–२ मा आफ्नो शाख बचाउन यसपटक कठिन हुनसक्ने स्थानीयले विश्लेषण गर्दै आएका छन् । तर, नेपालको राजनीतिमा पिता सुवासचन्द्र नेम्वाङको विराशत धान्ने उद्घोषका साथ मतदातामाझ जान थालेका एमाले उम्मेदवार सुहाङले चुनावी रणनीति कस्तो बनाउछन भन्नेमा भर पर्ने एमालेकै कतिपय नेताहरुले बताएका छन् । वर्तमान सत्ता गठबन्धनबाट साथ पाउने अपेक्षा गरेको एमालेलाई गठबन्धन सहयात्री दलहरुले आफ्नै उम्मेदवार घोष्णा गरिरहेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेको नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले सुहाङलाई चुनाव जित्न निकै चुनौति भएको बताएका छन् । सत्ता गठबन्धनमा सहमति भएको खण्डमा आफै चुनावी प्रतिष्पर्धामा जान चाहेका नेता खनालले भने –‘इलाममा सुहाङलाई कसैले चिन्दैनन् । एमालेले पारिवारिक विराशतका नाममा कमजोर र राजनीतिकरुपमा अपरिपक्क उम्मेदवार उठाएको छ । एमालेले इलाम–२ गुमाउने छ ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अझै उम्मेदवार टुंगो लगाउन सकेको छैन् । यद्यपी कांग्रेसमा गत निर्वाचनमा एमाले नेता सुवास नेम्वाङसँगै पराजि डम्बर खड्काको नाम अग्रपंतिमा छ । उम्मेदवारका विषयमा आइतबार निर्णय गर्ने कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले बताए । ‘हामीले चुनाव जित्नेगरी सबैको साझा सहमतिमा उम्मेदवार उठाउँछौं’, महतले भने–‘कांग्रेसभित्र सबैको एक मत हुँदा इलाममा चुनाव जित्न कुनै गाह्रो छैन् । हामी संसदमा इलामबाट एक सिट थप्नेगरी चुनावमा जादैछौं ।’ निरन्तर एमालेले जित्दै आएको उक्त क्षेत्रमा गत निर्वाचनमा समेत नेता नेम्वाङले करिव २ सय हाराहारी मतान्तरले कांग्रेसका नेता डम्बर खड्कालाई पराजित गरेकाले कांग्रेसले यो क्षेत्रलाई आफ्नो पक्षमा फर्काउन सक्ने आकलन गरेको छ ।

तर, नयाँ राजनीतिक दल र पहिचानवादीहरुको उम्मेदवार समेत कांग्रेस र एमालेलाई जोखिम बढाएका छन् । सत्ता गठबन्धनको एक घटक संसदको नयाँ राजनीतिक दल रास्वपाले मिलन लिम्बुलाई उम्मेदवार घोषणा गरेको छ भने अर्को सत्ता सहयात्री दल नेकपा एकीकृत समाजवादीले जीतबहादुर राईलाई उम्मेदवार बनाउने निर्णय लिएको छ । लिम्बुले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए । सरकारको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले पनि आफ्नै उम्मेदवार बनाउने तयारी भईरहेको जनाएको छ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पार्टीले आफ्नै उम्मेदवार उठाउने निर्णय भइसकेकाले पछि फर्कन नसक्ने बताए । उनले भने–हहामीले आफ्नै उम्मेदवार बनाउँने निर्णय गरिसकेका छौं । पात्रको विषयमा जिल्ला कमिटीलाई जिम्मेवारी दिएकाले एक दुइ दिनभित्रै उम्मेदवार टुंग्याउँछौं ।’
गठबन्धनमा हाल नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, जनता समाजवादी र नेकपा एकीकृत समाजवादी छन् ।

यी पाँच दलमध्ये जसपाले कसलाई सहयोग गर्ने वा आफ्नै उम्मेदवार खडा गर्ने भन्ने निर्णय गरिसकेको छैन् । उपनिर्वाचनका लागि निर्वाचन आयोगले आगामी चैत २४ गते उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका सार्वजनीक गरेको छ । त्यसअघि दलहरूबिच एक अर्कामा बार्गेनिङ पावर बढाउन उम्मेदवारी दिने रणनीति पनि भएको हुनसक्ने कतिपयको बुझाई छ । तर सत्ता गठबन्धन फेरबदल भएपछि प्रमुख प्रतिपक्षी बेन्चमा पुगेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई पटक प्रधानमन्त्रीसँग भेटवार्ता गरेको विषयलाई लिएर पनि राजनीतिक बृत्तामा फरक ढंगले चर्चा हुनेगरेको छ । यद्यपी उक्त भेटलाई संक्रमणकालिन न्याय सम्बन्धी (टीआरसी) विधेयक, संसद अवरोध हटाउने र बजेटका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

माओवादी, नेकपा एसलगायत सत्ता गठबन्धनमा दलहरुसँग सल्लाहा नै नगरी एमालेले आफ्ना उम्मेदवार घोषणा गरेर अरु दलहरुसँग सहयोग मागेपछि माओवादी सहितका साना दलले हेपिएको महसुस गरेको नेताहरुले टिप्पणी गरेका छन् । नेकपा एसका नेटा मेटमणी चौधरीले एमालेलाई सहयोग गर्ने अवस्था नरहेको बताए । गठबन्धनको मुख्य दल रास्वपाका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले स्वर्गीय नेता सुवास नेम्वाङको विरासत बोक्न इलामको माटोमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको बताए ।

शनिवार इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचनका लागि उम्मेदवार सार्वजनिक गर्दै लामिछानेले इलामले घण्टी बजाएरै छोड्ने दाबी गरे । परिवारका सदस्यले मात्र विरासत नधान्ने बताउँदै उनले भने– ‘राजनीतिमा त राजनीति नै चल्छ, परिवारमा दसैं तिहारमा टिका लगाउने काम त भइनै हाल्छ, राजनीतिमा राजनीति नै हुनुपर्छ, यो हामीलाई सुवास नेम्वाङले सिकाउनुभएको कुरा हो । सम्मानपूर्वक प्रतिस्पर्धा गर्ने आँट र अठोटका साथ हामी मैदानमा आएका छौँ ।’

एमाले नेता सुवास नेम्वाङ निधन भएपछि इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (क) मा कांग्रेसका पृथ्वीबहादुर सिंहको सवारी दुर्घटानमा मृत्यु भएपछि रिक्त हुन गएकाले उपनिर्वाचन हुँदैछ । यी उपचुनावमा पुराना दलहरु आफ्नो शाख जोगाउँन र नयाँले भत्काउने रणनीतिमा लागेका छन् ।