ओखलढुंगा महोत्सवकाे तयारी अन्तिम चरणमा

देशको आवाज
३ वैशाख २०८१ ६:४४

ओखलढुंगा,३ बैशाख । बैशाख ५ देखि ओखलढुंगामा हुने दोस्रो ओखलढुंगा महोत्सवकाे तयारी अन्तिम चरणमा पुगेकाे छ। ओखलढुंगा उद्योग वाणिज्य संघको आयोजना तथा एआइके ग्रुप काठमाण्डौको सह–आयोजनामा हुने महोत्सवकाे सम्पूर्ण तयारी भईसकेकाे ओखलढुंगा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्केले जानकारी दिए ।

उवासंघकाे आईतबार बसेकाे बैठकले महाेत्सव सफल बनाउन आवश्क सबै तयारीका विषयमा छलफल भएकाे बताईएकाे छ । स्टलहरु, अतिथि व्यवस्थापन, स्टेजलगायत पूर्वाधार र व्यवस्थापनका विषयमा छलफलसहित ५ बाट हुने महाेत्सवकाे सफलताका लागि आवश्यक जनशक्ति परिचलन लगायत तयारीलाई तीब्रता दिएकाे अध्यक्ष मास्केले बताए । महोत्सव १५ गते सम्म सञ्चालन हुने उद्योग बाणिज्य संघ ओखलढुंगाले जनाएकाे छ ।

जिल्लाको आर्थिक, सामाजिक, कृषि, पर्यटन, जडीबुटी र समग्र उद्योग व्यवसायको समय सापेक्ष विकास एवंम प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको संघका अध्यक्ष मास्केकाे भनाई छ ।महोत्सवले जिल्लाको पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण टेवा पुग्नुको साथै जिल्ला बाहिरका व्यवसायी बिच व्यापार सम्बन्ध बढाउन सहयोग पुग्ने अपेक्षा गरिएमाे छ ।

महोत्सव स्थलमा १५० भन्दा बढी स्टल राख्ने योजना छ । महोत्सवमा चर्चित कलाकारहरुको समेत प्रस्तुति, स्थानीय कला, मौलिक संस्कृति, विभिन्न जातजातिका झाँकी, नृत्य तथा स्थानीय परिकारको पनि प्रदर्शन हुने बताइएको छ ।

सिद्धिचरण नगरपालिका १२ को खेल मैदानमा आयोजना हुने महोत्सवको अवधिभर ६० हजार बढी दर्शक भित्र्याउने लक्ष राखिएको आयोजकले जनाएको छ । ओखलढुंगा उद्योग वाणिज्य संघको आयोजनामा करिब ५ वर्ष पछि दाेस्राे महाेत्सव हुन लागेकाे हाे ।