एमालेसँग मिलेर कांग्रेसले सरकार बनाउने विषयमा छलफल भएकाे छैन – डा महत

देशको आवाज
१० वैशाख २०८१ २१:०२

इटहरी,१० बैशाख । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमालेसँग मिलेर कांग्रेसको नेतृत्वमा सरकार बन्ने विषयबारे छलफल नभएको बताएका छन् ।सोमबार नेपाल प्रेस युनियन सुनसरीले इटहरीमा राखेको अन्तरक्रिया कार्यक्रममा डा. महतले अहिल्यै वैकल्पिक सरकार बनाउने विषयमा गृहकार्य नगरकाे बताएका हुन् ।

महतले भने- ‘नेताहरूले विभिन्न कुरा उठाउनुभएको छ, कसैले एमालेसँग मिलौँ पनि भन्नुभएको छ । सबैको विचारहरू आइरहेका छन् । कसैले कांग्रेसको नेतृत्वमा बहुमत आउनेगरी आगामी चुनाव पर्खिनुपर्छ भन्ने कुरा पनि छ । हामीले अहिल्यै वैकल्पिक सरकार बनाउने कुराको गृहकार्य गरेका छैनौँ । अविश्वास र विरोधाभासका कारण यो सरकारको आयु आफैँ छोटिदैँछ ।’

महतले गठबन्धन परिवर्तन भएसँगै देशमा अन्योल र अस्थिरता बढेको बताए । देशमा भएको गठबन्धन परिवर्तनका कारण अन्योल र अस्थिरता सृजना भएसँगै वर्तमान नेतृत्व सरकारको आयुसमेत छोटिदैँ गएको उनकाे जिकीर छ । वर्तमान गठबन्धनमा रहेका दलहरू बीच नै चर्को मतभेद र अविश्वास व्याप्त रहेको दाबी गर्दै डा महतले अस्थिरताका कारण अन्तराष्ट्रिय स्तरमै सरकारप्रति अविश्वास बढेको बताए ।

उनले पछिल्लो समय आर्थिक क्षेत्रमसेत चलायमान हुन नसकेको टिप्पणी गरे । पूर्व अर्थमन्त्रीसमेत रहेका महतले आफू अर्थमन्त्री हुँदा बाह्य सूचक र आर्थिक लयले सकारात्मक प्रभाव पारेको भएपनि पछिल्लो समय अर्थतन्त्र चलायमान हुन नसकेको बताए ।

सरकारले प्राथमिकताको क्षेत्रमा लगानी गर्नुपर्ने भएपनि जथाभावी बजेटको दुरुपयोग गरिहेको उनको भनाइ छ । कांग्रेसले गृहमन्त्रीसमेत रहेका रास्वपाका अध्यक्ष रवि लामिछानेको सहकारी ठगी विषयमा संसदीय छानबिन गर्न अडान राखिराखेको उनकाे भनाई छ ।

‘सहकारी ठगीबाट बचतकर्ता मारमा परेको र स्वयम् गृहमन्त्री सुरक्षा निकायको प्रमुख भएका कारण गैरकानुनीको विषय छर्लङ्गै भइसकेको छ । जुन निकायको प्रमुख उहाँ हुनुहुन्छ, उहाँलाई नै छानबिन गर्ने कुरा नभएका कारण संसदीय छानबिन बनाउनुपर्छ भन्ने हाम्रो माग हो,’ उनले भने, ‘हामीले आधार र तथ्यमा टेकेर यो कुराको उठान गरेका हौँ, जनतामाझ स्पष्ट छ ।’

यसैबीच यही बैशाख १५ गते हुने उपनिर्वाचनमा इलाममा कांग्रेसले जित्नेसमेत उनको दाबी छ । यसअघिकै उम्मेदवार दोहोरिनु र स्थानीयस्तरका मानिसको दुःखसुखमा डम्बर खड्काले सहयोग गर्नुका कारण उनैको जित निश्चित रहेकोसमेत डा. महतको दाबी छ । ‘उहाँ यसअघि पनि झिनो मतले पराजित हुनुभएको र त्यस क्षेत्रका जनताको दुःखसुखको साथी भएका कारण कांग्रेसले चुनाव जित्ने निश्चित छ । हुन त चुनाव प्रतिष्पर्धा पनि हो ।’