इलाम - २ उपनिर्वाचन :

कांग्रेस सधै पहिचान पहुँच र प्रतिनिधित्वको पक्षमा छ– शेखर कोइराला

देशको आवाज
११ वैशाख २०८१ १८:५२

इलाम- नेपाली कांग्रेसका बरिष्ठ नेता डा शेखर कोइरालाले पहिचानको मुद्दा सबैभन्दा पहिले उठाउने पार्टी नेपाली कांग्रेस नै भएको बताए । मंगलबार चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रेस सधै पहिचान पहुँच र प्रतिनिधित्वको पक्षमा भएको जिकीर गरे ।

कांग्रेस बाहेक कसैले पनि पहिचानको मुद्दालाई सम्बोधन गर्छ भन्ने भ्रममा नपर्न अनुरोध गर्दै कोइरालाले पहिचान चाहानेहरूले कांग्रेस उमेदवार डम्बर खड्कालाई मत दिनुपर्ने बताए । ‘गत माघ ७ गते पहिचानवादी अग्रज नेताहरु बिराटनगर जानुभएको थियो, मैले उहाँहरुलाई पहिचानको मुद्दामा म सम्बेदनशिल रहेको र कांग्रेसले पहिचानको मुद्दालाई सम्बोधन गर्ने कुरामा आश्वस्त बनाएर पठाएको थिएँ’, कोइरालाले भने–‘अर्को कुरा प्रदेश सरकारले पहिचानको मुद्दालाई सम्बोधन गर्न कांग्रेस नेतृत्वको प्रदेश सरकारले समिति नै बनाएर काम गरिरहेको कुरा तपाईं सबैलाई थाहा नै छ ।’ सम्बोधनको क्रममा उनले अन्य दलहरु आफ्नो दल र तिनका नेता भन्दा माथि उठ्न नसकेका र कांग्रेस भने आफू र आफ्नो पार्टीलाई भन्दा माथि राष्ट्र र जनता छन भन्ने कुरा लिएर हिंडेका उल्लेख गरे ।

कांग्रेसकै पहलमा छिटोभन्दा भन्दा छिटो मालपोत कार्यलय र नापी कार्यलय चुलाचुली आउने भन्दै उनले चुलाचुली वार्ड नं–६ को ‘साक्फारा सडक’ र सदरमुकाम जोड्ने ‘चुलाचुली–महमाई सडक’ निर्माण कार्य कांग्रेसकै पहलमा निर्वाचन लगत्तै सुरु हुने प्रतिवद्धता समेत व्यक्त गरे । ‘रुख चिन्हमा मत हालेर डम्बर खड्कालाई यहाँबाट जिताएर पठाउँनोस् ईलाम –२ को बिकासको जिम्मा म लिन्छु’, डा कोइरालाले प्रतिवद्धता जनाए ।

नेता कोइरालाले चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गर्ने, चियाबगानमा काम गर्ने श्रमिकहरुका लागि समान ज्याला र उनिहरुको हकहितका पक्षमा काम गर्ने समेत प्रतिवद्धता जनाएका छन् । त्यस्तै सहकारी ठगी प्रकरणको विषय काट्याउँदै उनले संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नसक्ने बताए । सुशासन पाठ सिकाउन खोज्ने पार्टी र उसको सभापति सहकारी ठगिमा मुछिएको विषयमा छानविन गर्न गृहमन्त्री रवि लामिछानेलाई संसदीय छानबिन समिति बनाउन किन डराएको भन्दै प्रश्न समेत गरेका छन् । मंगलबारको चुनावी सभालाई महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री भिष्मराज आङदाम्बे, नेताहरु प्रकाशशरण महत, रामहरि खतिवडा, राजिव ढुंगाना लगायतले सम्बोधन गरेका थिए ।