रूस–युक्रेन युद्ध मैदानको बंकरबाट कृतुलाई जुनआरकाे मार्मिक पत्र !

जुन आर. मगर
१७ चैत २०८० १६:५९

रुस र युक्रेनको युद्ध मैदानबाट । सन् २०२२ को फेब्रुअरीमा रुस–युक्रेनबिचको युद्ध सुरु भयो । युद्धसँग नेपालको चासो र चिन्ता त थियो । तर, प्रत्यक्ष साइनो केही थिएन । युद्ध लम्बिँदै गर्दा मानव तस्करको सञ्जालमार्फत नेपाली युवा रुसी सेनामा भर्ती हुन थाले । नेपाली युवा रुसी सेनामा भर्ना भएर उक्त युद्धमा होमिएका मात्र छैनन्, हालसम्म ३० जना बढीले ज्यान गुमाइसकेका छन् । एक सयभन्दा बढी बेपत्ता छन् । कैयौँ घाइते छन् । जसको यकिन संख्या आएको छैन ।

अहिले रुसी सेनामा एक हजार पाँच सय नेपाली भएको बताइन्छ । रुसी सेनामा कार्यरत नेपालीका परिवारले आफन्त स्वदेश फिर्ताका लागि प्रयास गर्न, बेपत्ताको खोजी गर्न माग गर्दै नेपालमा संगठित अभियान चलाइरहेको छ ।  नेकपा एकीकृत समाजवादी पार्टीकी नेता कृतु भण्डारीले यसको संयोजन गर्नुभएको छ । रूस र युक्रेनको युद्धमा फसेका नेपालीलाई स्वदेश फर्काउन भनी आफ्नो घर ब्यबहार र भोक तिर्खालाई थाति राखेर निरन्तर सरकारको ढोका ढक्ढक्याउने आदरणीय कृतु भन्डारी लगायत अभियानमा खटिनुहुने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनी र शुभचिन्तकहरूमा लडाईको मैदान बाट नमस्कार जय नेपाल !

तपाईहरू सन्चै हुनुहुन्छ होला भन्ने आशा छ । तपाईहरू कोही कसैलाई सधैं राम्रो होस सोचे–आटेको सबै पुरा होस् भनि भगवानसँग प्रार्थना गर्दछु । हाम्रो सम्पर्कमा रहेका ३१ जना नेपाली युक्रेनको युद्धभूमि भेसेले र राजडोल्भीका भन्ने ठाउँका विभिन्न बंकरमा र भत्केको घरमा बस्दै आइरहेका छौं । हामी मध्य एक दुई जना सामान्य घाइते बाहेक सबै सकुशल रहेको समेत जानकारी गराउन चाहन्छु ।

नेपालीको मुख्य सत्रु गरिबि हो । आफ्नो घर व्यवहार चलाउन धौधौ पर्नुपर्ने अवस्था, शिक्षा, स्वास्थ्यमा राम्रोसँग खर्च गर्न नसक्ने परिस्थिति र कतिपयको आयस्रोत भन्दा बढी खर्च गर्ने बाँनीका कारण पनि नेपालीहरुमाथि सधै समस्याले पिरोलिरहन्छ । यी यावत समस्या समाधानका खातिर कोही बुझेर कोही नबुझेर कोही मानव तस्करी गर्ने दलाली मार्फत पैसा कमाउने धुनले बैधानीक÷अबैधानीक तबरबाट पछिल्लो समय रुस प्रवेश गर्नेहरुको लर्को नै लागेको थियो । हाम्रो न रूससँग रिसीइबी छ नत युक्रेन संगनै ।

फोकटमा यस्तो कहाली लाग्दो भुमरीमा हामी फसेका हौं भन्ने लागेको छ । मानवता नहुनेहरूले ठिक्क पर्यो, बल्ल खाइस समेत भन्दै होलान । तर, यतिखेर नेपालबाट हामी पिडीतहरूलको आवाज उठाउने तपाई (कृतु) र तपाईँको टिम हुनुहुन्छ भन्ने सुनेकाछौ, सामाजिक सञ्जालमा अभियानका बारेमा हेर्न पाएका छौं । यो अभियानले रूस र युक्रेनको लडाईमा फसेका नेपालीहरूको बॉंच्ने र घर परिवारसंग भेटहुने भयो भन्ने आशा पलाएको छ । त्यस कारण तपाई र तपाईँको टिमलाई अन्तस्करणदेखि धन्यवाद् दिन चाहान्छु । हाम्रो विभिन्न ग्रुपसँग समय समयमा भएका संवाद र सामाजिक सञ्चलमा देखेका यहाँहरुका सकारात्मक पहल कदमीअनुसार केही न केही आशा जगाउनुभएकोप्रति युद्धमैदानमा रहेका नेपालीहरुको विभिन्न टिमबाट समेत एकमुष्ठ साधुवाद् बाहेक अहिले हामीसँग दिने केही छैन् ।

नेपालमै राम्रो रोजगारीको अवसर भएको भए शायद हामी नेपालीले यो खाले झमेला भोग्नुपर्ने थिएन होला । यहाँहरुलाई थाहैछ– अहिलेका मानिसहरू नयाँ प्रविधिमार्फत लडाई लडिरहेका छन् । आयो गोर्खाली भनेर खुकुरी नचाउने जमाना पक्कै होइन । केही साथीहरू युद्ध सम्बन्धी जानकारी भएपनि, बिचरा कोही भाईहरू गाउँ घर पाखा पखेरामा खेल्दा खेल्दै यहाँ आइपुगेको जस्तो लाग्छ । उनिहरुले मानव तस्करी गर्ने दलाल मार्फत फस्न पुगेको भन्ने गरेका छन् । अझै नेपालीहरू दलालहरूले बिभिन्न प्रलोभन देखाई रुसमा आइरहेका छन् । यहाँको अवस्था जतिनै कहालीलाग्दो भएपनि यो क्रम रोकीएको छैन् । २–४ जना नेपाली दलालीहरु यहाँ रूसमा छन् ।

तिनीहरूले गाइड गरिरहेका छन् । १ जना नेपाली बराबर हजार १५ सय देखि २५ सय डलरमा भारत, दुबई, कतार, देखी यहाँ सम्म सेटिङ मिलाउने रहेछन । कृपया तपाईँ यो लेख पढ्दै हुनुहुन्छ भने तपाईलाई कहालीलाग्दो युद्धमा नफस्न चेतना दिदै छ भन्ने सम्झिनुस र नफस्नुहोस । जो सामाजिक सञ्जालहरूमा देखिन्छ त्यसको हजार गुणा कस्ट छ यहाँ, म भन्छु नआउनुस्, अरू कही कतै केही गर्नुस् । साथै यो ठाउँमा आउन कसरी रोक्न सकिन्छ यसमा नेपाल सरकारको ध्यान जावस भन्न चाहन्छु ।

यहाँ आइसकेपछि सामान्य मेडिकल चेकअप हुन्छ । ५२ बर्ष सम्मको नेपाली भेटे, आर्मी हुदा चाहिने शारीरिक अबस्था कस्तो हुनुपर्छ त्यसको १५ % पनि चेकअप हुँदैन । त्यस कारण लाडाईमा बढी मानिसहरू घाइते र मृत्यु हुन्छन् । सरदर १५ दिनको तालिम पश्चात बन्दुक खेलाउन सिकाउँछ र युद्धको पहिलो लाईनमा तीनै नेपालीलाई अगाडि बढाउछ र हरेक नेपालीले भाषा सिकोस भनेर २–४ जनाको दरले रसीयनको बगालमा केही महिना सम्म सुताउँछन् । ४ महिनाबाट अगाडि जानैपर्छ । त्यही २–४ महिनाको बिचमा हाम्रा दाजुभाइहरू खुब खोक्छन्,  Im Russian Army    भनेर सान दिन्छन । मलाई ठीक छ यस्तो उस्तो भन्छन् ।

तर, यहाँ हामी नेपालीहरूको हरेक चिज खोसेर एउटा कागजको भरमा लडाईमा पाठाएको छ । मृत्यु भएको छ । उद्धार गरिदिनुहोस हे नेपाल सरकार ! हामी अकालमा ज्यान गुमाउन चाहन्नौ, नेपाल सरकारसँग जिन्दगीको भिक मागिरहेका छौ । हामी नेपालीहरूलाई यहाँ दुस्मन भन्दा पनि पहिला भाषा, रहन सहन, चिसो मौसम र कठिन भौगोलिक अवस्थाको सामना गर्नुपर्ने हुन्छ । जुन म आफैले भोग्दै आएको छु । यहाँ मैले जे भोगे जे देखे त्यही लेख्दैछु । तपाईलाई सम्झदै म बसेको ठाउँ याकोलिभ्काबाट भेसेले भन्ने ठाउँमा पुगेपछि अगाडि कस्तो छ यो आँखाले हेरेर भोगेर आएको छु।

म जस्ता कयौ साथीहरूले त्यस्ता समस्याहरूको सामना गरेछन्, उनिहरुलाई सलाम छ । ती साथीहरूलाई, कतिको पहिचान छैन । होस पनि कसरी युक्रेनीले बिछाएको बम, ड्रोन, आर्टिलरी प्रहारबाट ज्यान टुक्रा टुक्रा भएको छ । कसैको आन्द्रा भुँडी निस्किएको छ । कस्को ज्यान कस्को खुट्टा कस्को हात कसको टाउको कसरी पहिचान होस् । मान्छे भुस्याहा कुकुर मरे जस्तैगरि मरेकाछन । न खाना न पानी छ । आर्मी खाना १ ठाउँमा लगेर थुपार्छ ।

बल्ल बल्ल लिन गयो अगिनै दुस्मन को बमले तितरबितर बनाई सकेको हुन्छ । त्यही माटोमा लतपत भएको खाना टिपेर मुस्किलले आफ्नो ठाउँमा जान्छन, भाग्यले बाँचेर आफ्नो मिसन पुरा गरेर फर्केर आराम गर्ने ठाउँमा जान्छन । बैंकमा गएर हेर्यो पैसा हुँदैन ।  अन्दा–धुन्द बेकारमा लडाई लडिरहेका छन् । अरूतिर के गरेका छन थाहा भएन् । हामीले भने आदेश अनुसार दुवै पक्षका घाइते र मृत शरीर उठायौ । कुरा यत्ति हो पहिचान खुल्छ खुल्दैन नखुले त्यही खाल्डो खनेर गाडीदिन्छ । पहिचान खुल्नेलाई केही महिना राखिन्छ ।
        रुसी सेनाको दैनिकी कसरी वित्दैछ ? क्रमश… अर्को दिन ।