बंगलादेशले जित्यो यु १६ को उपाधि

देशको आवाज
२८ फागुन २०८० २२:५८

काठमाडौं, २८ फागुन । बंगलादेशले साफ यू–१६ महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आइतबार एन्फा कम्प्लेक्समा भएको फाइनलमा भारतलाई टाईब्रेकरमा हराउँदंै बंगलादेशले उपाधि जितेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमार्फत गरिएको थियो । टाईब्रेकरमा बंगलादेशकी किपर इयरजान बेगमले उत्कृष्ट प्रर्दशन गरिन् । उनले भारतीय खेलाडीको प्रहारलाई असफल बनाएपछि उपाधि रक्षा गर्न सफल भयो । यसअघि लिग चरणमा बंगलादेशले भारतलाई ३–१ ले हराएको थियो ।

पेनाल्टीमा बंगलादेशका मरियम बिन्ता हन्ना, तानिया अख्तर फोमी र साथी मुन्डाले गोल गरे । बंगलादेशबाट पहिलो प्रहार सौरवी अखन्डा प्रीतिले गरेकी थिइन् । उनको प्रहारलाई भारतकी गोलकिपरले विफल बनाइन् । अल्पी अख्तरको प्रहार पोस्टमा लागेर फर्कियो । भारतका श्वेता रानी र अन्वीता रघुरमनले गोल गरे । भारतका अलीनादेवी सरागंथेम, बोनिफिलिया शुल्लाई र दिव्यानी लिन्डाको प्रहारलाई बंगलादेशकी गोलकिपरले विफल बनाइन् ।

त्यसअघि, खेलमा अग्रता भारतले बनाएको थियो । भारतकी अनुष्का कुमारीले पहिलो हाफमा गोल गर्दै अग्रतामा राखेकी थिइन् । ७१औँ मिनेटमा कप्तान अप्रीता विश्वासले गोल गर्दै बंगलादेशलाई खेलमा फर्काएकी थिइन् । प्रतियोगितामा घरेलु टोली नेपाल समूह चरणबाटै बाहिरिएको थियो । नेपाल भारतसँग १०–० ले हारेपछि नेपालको फाइनल यात्रा सकिएको थियो । नेपाल लिग चरणको खेलअन्तर्गत बंगलादेशविरुद्धको खेलमा २–० ले हारेको थियो । नेपालले ४ टोली समावेश प्रतियोगितामा भुटानलाई ३–० ले हराए््र एक जित मात्रै निकाल्न सकेको थियो ।