टी–२० विश्वकपको तयारीका लागि नेपाली टिमलाई ५ करोड

देशको आवाज
२४ फागुन २०८० ६:५७

काठमाडौं– सरकारले आईसीसी पुरुष टी–२० विश्वकपको तयारीका लागि ५ करोड रकम दिएको छ। नेपाली टिमको तयारीका लागि अर्थ मन्त्रालयबाट ५ करोड रकम निकाशा भएको हो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले तयारी खर्च निकासा भएको जानकारी दिँदै नेपाल सरकार, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयलाई धन्यवाद दिए। सदस्य–सचिव घिसिङले नेपाल क्रिकेट संघलाई पूर्ण तयारीका लागि गम्भीर भएर अगाडि बढ्न भन्दै नेपाली टोलीलाई शुभकामना दिए।

नेपालमा गत अक्टोबर ३० देखि नोभेम्बर ५ तारिखसम्म भएको आइसिसी पुरुष टी–२० विश्वकप एसिया रिजनल क्वालिफायरको सेमिफाइनलमा युएइलाई ८ विकेटले हराउँदै अमेरिका र वेस्ट इन्डिजमा जुन १ तारिखदेखि सुरु हुने आईसीसी पुरुष टी–२० विश्वकपका लागि नेपाल छनोट भएको थियो। सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो। टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ छ। समूहमा नेपालले बंगलादेश, दक्षिण अफ्रिका, श्रीलंका र नेदरल्यान्ड्स छन्।