पुरुष भलिबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा

देशको आवाज
२४ पुष २०८० २१:५१

सुर्खेत,२४ पुस । वीरेन्द्रनगरमा चलिरहेको ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । आज भएको लिग चरणको अन्तिम खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हराएसँगै सेमीफाइनल समीकरण पूरा भएको हो ।

गण्डकीले पहिलो सेट २५–२१, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–२१ ले जित हात पारेको छ । यो खेल संगै गण्डकी समूह ‘बी’ को उपविजेता बनेको छ । यसअघि आजै भएको खेलमा कोशी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगेको छ । पुलिसले पहिलो सेट २५–१५, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–११ ले जित्यो । यो खेल संगै पुलिस समूह ‘ए’ को उपविजेता बनेको छ । एपीएफ र आर्मी यसअघि नै सेमीफाइनलमा पुगिसकेका थिए ।

एफीएफ समूह ‘ए’ र आर्मी समूह ‘बी’ को विजेता बनेको थियो । प्रतियोगितामा यी २ टोली अपराजित हुन् । अब भोलि हुने पहिलो सेमीफाइनलमा एपीएफ र गण्डकी तथा दोस्रो सेमीफाइनलमा आर्मी र पुलिसबीच खेल हुनेछ । नेपाल भलिबल सङ्घको आयोजना र कर्णाली प्रदेश भलिबल सङ्घको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल पर्सि हुनेछ ।