कर्णालीका डेढ लाख बालबालिकालाई दादुराबिरूद्दको खोप लगाइदै

सिर्जना बुढाथोकी
१२ फागुन २०८० २१:२०

सुर्खेत११ फागुन ।कर्णाली प्रदेशमा करिब डेढ लाख बालबालिकालाई दादुराबिरूद्दको खोप लगाइदै छ । ९ महिना देखि ५ वर्ष मुनिका कुल १ लाख ४७ हजार ४ सय ४४ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको स्वास्थ सेवा निर्देशनालय सुर्खेतले जनाएको छ । यहि फागुन महिनाभित्र खोप लगाउने गरी खोप अभियान सुरू हुने भएको हो । सुर्खेत, दैलेख, कालिकोट, जुम्लामा १३ गतेदेखि, सल्यानमा १० गतेदेखि, डोल्पामा २२ गतेदेखि, मुगुमा २४ र हुम्लामा २५ गतदेखि खोप अभियान सुरू हुने कार्यतालिका तय भएको छ ।

सबै जिल्लामा दुई चरणमा अभियान सुरू हुने छ । कर्णालीकै जाजरकोट र रूकुम पश्चिममा भने यस अघि नै खोप अभियान सम्पन्न भइसकेको प्रदेश स्वास्थ सेवा निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत तथा खोप फोकलपर्शन नवराज कँडेलले जानकारी दिए । खोप अभियानका लागि कर्णालीमा करिव करिव १ हजार ४ सय खोप केन्द्र रहने अनुमान गरिएको छ । १ सय २५ जना बालबालिका भएको ठाउँमा एउटा खोप केन्द्र राखिने छ । दादुरा रूवेला खोप अभियान २०८० सम्बन्धनमा सञ्चारकर्मीहरूलाई अभिमुखीकरण कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।

खोप कर्णालीका मुगु, हुम्ला र डोल्पामा हेलिकप्टरबाट खोप ढुवानी गरिने छ भने बाँकी जिल्लामा स्थलगत माध्यमबाट खोप ढुवानी प्रक्रिया सुरू गरिएको प्रदेश स्वास्थ आपूर्ति केन्द्र सुर्खेतका आपूर्ति प्रमुख देविराम पौडेलल बताए । कर्णाली पूर्ण खोपयुक्त प्रदेश घोषणा भएपनि दादुराको जोखिम भने कायमै छ । पछिल्लो समय जाजरकोट, सुर्खेत र कालिकोटमा दादुराका विरामी भेटिएका थिए । सरूवा रोग दादुराले रोग १ जना संक्रमितले १८ हजारसम्म बालबालिकालाई सर्ने जोखिम हुन्छ ।

यही कारण दादुरा खोपलाई प्रभावकारी बनाउने लक्ष्य तय गरिएको छ । खोप अभियानलाई प्रभावकारी बनाउन स्वास्थ संस्थाहरूले बालबालिका रहेको घरमा निमन्त्रणा कार्ड नै दिएर खोप लगाउन प्रेरित गरिने छ । २०३४ सालदेखि सुरू भएको राष्ट्रिय खोप कार्यक्रममा हाल १३ प्रकारका खोपहरू लगाइने गरिएको छ । बालबालिकालाई विभिन्न रोगबाट बचाउन पहिले १ महिने बालबालिकामा सीमित रहेको खोप कार्यक्रममा हाल १५ वर्षसम्म बालबालिकालाई समेट्दै आएको छ ।