एनएफपिजे नेपालले फुटसल प्रतियोगिता गर्दै

देशको आवाज
१३ फागुन २०८० २३:३७

काठमाडौं, १३ फागुन । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आगामी चैत्र दोस्रो साता पत्रकारहरूबीच फुट्सल प्रतियोगिता आयोजना गर्ने भएको छ । सो अवसरमा एनएफपिजेले आफ्नो तर्फबाट शनिबारदेखि टिम बनाउन प्रशिक्षणमा जुटेको छ ।

शनिबार सानो भर्याङस्थित स्वस्तिश्री गुरुकुल स्कुलमा फुट्सल प्रशिक्षण थालेको हो । विगतका वर्षमा झैं यस वर्ष पनि विभिन्न सञ्चार संस्थामा आबद्ध फोटो पत्रकार तथा पत्रकारहरुको टिमबीच फ्रेण्डसिप खेल आयोजना गर्दैछ । तयारीसँगै आगामी बैशाखमा बंगलादेशको फोटो पत्रकार लगायत नारायणगञ्ज क्लवका सदस्यहरूसँग तय भएको मैत्रीपूर्ण फुटबल खेलका लागि राष्ट्रिय फोटो पत्रकार समूह नेपाल ९एनएफपिजे०ले तयारी सुरु गरेको हो ।

‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ संस्थाका साथीहरू स्वस्थ पनि रहुन र अन्य संघ संस्थासँग पनि मैत्रीपूर्ण खेल खेल्न सकियोस् भन्ने उद्देश्यका साथ फुट्सल प्रशिक्षण थालेको एनएफपिजेका कार्यवहाक महासचिव घनश्याम श्रेष्ठले जानकारी गराए । उनले बंगलादेशका फोटो पत्रकार साथीहरू पहिलेदेखि नै मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आउन इच्छुक रहेकाले सोको तयारीका लागि अभ्यास थालेको पनि जानकारी दिए ।

फुट्सल प्रशिक्षणका लागि आगामी दिनमा प्रत्येक शनिबार संस्थाका साथीहरू मिलेर नियमित फुट्सल खेल्ने एनएफपिजेले जनाएको छ । यसअघि राष्ट्रिय फोटो पत्रकार समूह ९एनएफपिजे०को २५औँ वार्षिक उपलक्ष्यमा पनि फुट्सल प्रतियोगिता आयोजना गरिएको थियो । त्यो समयमा १२ टोलीले सहभागीता जनाएका थिए । प्रतियोगितामा हाम्रो फुटसल पत्रकार टोलीले उपाधि उचालेको थियो