रेडक्रसको सहयोगमा ६२ घरधुरीमा पिउने पानीको धारा

देशको आवाज
२७ फागुन २०८० २२:०४

ओखलढुंगा,२७ फागुन । मोलुङ्ग गाउँपालिका वडा नं ४ स्थित माझखर्कका ६२ घरधुरीमा पिउने पानीको धारा पुर्याइएको छ । नेपाल रेडक्रस सोसाइटी ओखलढुंगा, मोलुङ्ग गाउँपालिका र स्थानीयको जनश्रमदानमा घरघरमा धारा पुर्याइएको हो । पिउने पानीको अभाव झेलिरहेका माझखर्क, खस्रेनी फेदी, उर्लेनीका स्थानियबासी खुशीले दंग छन् ।

रेडक्रस सोसाइटीको ४४ लाख ९३ हजार, मोलुङ्ग गाउँपालिका १५ लाख ३ हजार, र स्थानीयले १५ लाख ६ हजार बराबरीको जनश्रमदानसहित ७५ लाख ३ हजार लागतमा योजना सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष लालबहादुर तामङ बताए । प्रत्येक परिवारले ३३ दिन बराबरको श्रमदान गरेको उनको भनाई छ । नेपाल रेडक्रस सोसाइटीको दिगो र समाबेशी खानेपानी, स्वच्छता तथा सरसफाई प्रबद्र्धन कार्यक्रम अन्तर्गत खानेपानी योजनामा सहयोग गरेको रेडक्रस सोसाइटी ओखलढुंगाका अध्यक्ष नारायणप्रसाद दाहालले बताए ।

उक्त ठाउँको बस्तीलाई २० हजार घनमिटरको एक, दश हजार घनमिटरको २ र ५ हजार घनमिटरको १ गरी चार वटा आर.भि.टी ट्याङ्की निर्माण गरीएको छ । खानेपानीको अत्यान्त दुःख रहेको यस भुगोलमा नागरिकको घण्टौ सम्म गाग्री बोकेर पानी लिन खाला धाउनुपर्ने बाध्यता टरेको स्थानीयको भनाई छ ।

पिउने पानीको समस्या समाधान भएसँगै यहाँका नागरिकमा खुसी छाएको अध्यक्ष लालबहादुर तामङले जानकारी दिए । यो योजना अन्र्तगत ६२ घर परिवार, ग्राम विकास आधारभूत विद्यालय माझखर्क (१–५) र स्वास्थ्य युनिटमा सोत निशुल्क धारा पानीको व्यबस्था गरिएको रेडक्रस सोसाइटी ओखलढुंगाको वास परियोजनाको परियोजना अधिकृत खिलराजे गुरागाइले जानकारी दिए । मोलुङ गाउँपालिकाको वडा नं ३ मा पनि खानेपानीको काम भईरहेको उनले बताए ।