एचएनबिजिको छैटौं शाखा इजाकाया होक्काइडो र्याडिसन होटेल परिसरमा

देशको आवाज
२३ चैत २०८० २३:०२

काठमाडौं,२३ चैत्र । होक्काइडो नेपाल बिजनेस गु्रप (एचएनबिजि)ले आफ्नो छैटौं शाखा इजाकाया होक्काइडो र्याडिसन होटेल परिसर लाजिम्पाटमा सञ्चालनमा ल्याएको छ । नेपालमा जापानिज फुड कल्चर भित्र्याउने अग्रणी संस्थाको रुपमा रहेको एचएनबिजिले सन् २०१९ देखि नेपालमा जापानिज खानाका रेस्टुरेन्टहरु सञ्चालन गर्दै आएको छ ।

पहिलो शाखाको रुपमा काठमाडौँको बुढानीलकण्ठस्थित पार्क भिलेज होटेल हातामा होक्काइडो रामेन हाउस रेस्टुरेन्ट सञ्चालनमा आएको थियो । त्यसपछि संस्थाले अन्य शाखाको रुपमा देक्काइडो फार्म हाउस बुढानीलकण्ठ, ओमाकासे नक्साल, होक्काइडो हाउस सानेपा र होक्काइडो बेन्तो हाउस बौद्ध सञ्चालनमा ल्याएको थियो । यो संस्थाले क्यूएक्सको रुपमा लबिम मल पूल्चोक र ली शेर्पा काठमाडौंमा अन्य शाखाहरु सञ्चालन गरेको छ । रेस्टुरेन्टलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गर्नका लागि एचएनबिजिको रुपन्देहीको भैरहवामा देक्काइदो एग्रो फार्म सञ्चालनमा छ ।

यो गु्रप मातहात सञ्चालित होक्काइडो एकेडेमी अफ हस्पिटालिटीले दक्ष जनशक्ति उत्पादनका लागि काम गर्दै आएको छ । एचएनबिजिको गुणस्तर कायम गर्नका लागि सेन्टर किचन पनि सञ्चालनमा छ । जापानिज फुड कल्चरको प्रवर्द्धन गर्दै रेस्टुरेन्टहरू मार्फत जापानी खानाका पारखीको सेवामा समर्पित यो समूहमा १७० जना बढीको टिमले काम गरिरहेको छ ।

जापानको होक्काइडोमा नेपाली फुड कल्चरलाई विस्तार गरेका अर्जुन अधिकारी नेतृत्वको समूहले सोही प्रेरणाका कारण नेपालमा जापानको फुड कल्चर विस्तारमा लागेका बताएको छ । व्यावसायिक पृष्ठभूमिका व्यक्तिहरूको समूह होक्काइडो नेपाल बिजनेस गु्रप नेपालको समृद्धिसँग हातेमालो गर्ने उद्देश्यले फरक सोचका साथ रेस्टुरेन्ट व्यवसायमा लागेको बताउँछ । मुख्यगरी उत्पादन, उद्यमी र लगानीलाई आफ्नो प्राथमिकतामा राखेको यो समूहले आन्तरिक सशक्तीकरण मार्फत विदेशी लगानी भित्र्याउने वातावरण निर्माणको योजना बनाएको संस्थाका निर्देशक अर्जुन अधिकारीले बताए ।

देशको समृद्धिका लागि नागरिकलाई पहिला उत्पादनसँग जोड्नुपर्ने बताउने निर्देशक अधिकारी उत्पादनलाई गुणस्तरीय बनाउनका लागि विदेशी प्रविधि, लगानी र सीप भित्र्याउने गरी काम गर्ने बताउँछन् । उनी भन्छन्, ‘पहिला उत्पादनलाई फोकस गर्छौ अनी गुणस्तरीय उत्पादनका लागि सफल प्रविधि र सीपसँगै लगानी भित्र्याउँछौं । यसले उद्यमी बन्न प्रेरित गर्छ र स्वदेशमा नै उत्पादन, उद्यमी र गुणस्तरीय सेवा प्रवाह हुन्छ ।’ अधिकारी थप्छन, ‘नेपालमा नै उत्पादन हुन थालेपछि उद्यमी जन्मन्छन, उद्यमीले सफल प्रविधि भित्र्याउन पहल गरेसँगै उत्पादनको गुणस्तर पनि बढ्छ जसले निर्यात प्रतिस्थापन र स्वदेशमा रोजगारीको अवसर सिर्जना हुन्छ । अनी मात्र देश समृद्ध हुन सक्छ ।’

उत्पादनसँग जोडिएपछि बिस्तारै गुणस्तरीय उत्पादनमा जोड दिने र त्यसलाई मौलिक पहिचानका साथ अन्तर्राष्ट्रियकरण गरिनुपर्ने धारणाका साथ आफूहरू अगाडी बढेको अधिकारी बताउँछन् । उत्पादन र उपभोगलाई प्रतिस्पर्धी बनाउनका लागि विदेशको सफल प्रविधि र सीप भित्रयाउनुपर्ने अधिकारीको मत छ । जापानमा आर्जन गरेको व्यवसायिक अनुभवलाई उपयोग गर्दै रेस्टुरेन्ट क्षेत्रमा लगानी र रोजगारी सृजनाको संकल्प बोकेका अधिकारी मुख्य गरी नेपालमा जापानी फुड कल्चर प्रवर्धनमा सक्रिय छन् ।

विदेशी भूमिमा श्रमसँगै आर्जन गरेको सीपलाई नेपालमा प्रयोग गर्दा उत्पादन र रोजगारीको क्षेत्रमा सहयोग पुग्ने धारणा बोकेका अधिकारीले जापानिज फुड कल्चरलाई देशैभर विस्तारको योजना बनाएका छन् । कम्तीमा एक सय उद्यमी जन्माउने सपना बोकेका अधिकारीले हालसम्म ७ जना सफल उद्यमीलाई यो क्षेत्रमा स्थापित गराएको बताउँछन् ।