नेकपा स्थापना हीरक जयन्ती सन्देश :

‘तत्काल सत्ता सहकार्य मात्रै, पार्टी एकता हतार नगर्ने’

जीवन शर्मा
११ वैशाख २०८१ ८:१२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुबैले तत्काल सत्ता सहकार्यलाई अघि बढाएपनि कम्युनिष्ट पार्टी एकताको पक्षमा नरहेको प्रष्ट पारेका छन् । तत्काल दुई पार्टी एकता नगर्ने र अहिलेलाई सत्ता सहकार्य गर्ने विषयमा प्रधानमन्त्री ‘प्रचण्ड’ र एमाले अध्यक्ष शर्मा ओलीबीच बोली मिलेको हो। सोमबार नेकपा स्थापनाको हीरक महोत्सवमा पनि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षले सत्ता सहकार्यमा जोड दिदै विचार–विमर्श हुँदै जाँदा एकताको तहसम्म पुगिने सम्भावना खुल्ला रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले ६ वर्षअघिको एकतालाई समेत सम्झिए। २०७५ जेठ ३ गते तत्कालीन एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित दिवंगत भएको तिथि पारेर एमाले र माओवादी केन्द्रबीच एकता भएको थियो। प्रधानमन्त्री प्रचण्डले २०७७ फागुन २३ गतेसम्म टिकेको त्यो एकता हौसिएर अघि बढेको परिघटनाका रूपमा लिए।

नेपाली कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा हीरक महोत्सव मनाउदै सत्तारुढ गठबन्धनका मुख्य नेतृत्वले कम्युनिष्ट एकतामा हतार नगर्ने सन्देश दिएपछि राजनीतिक रुपमा एकखालको तरंग उत्पन्न भएको छ ।  वाम कम्युनिष्ट एकता गर्न पटक पटक प्रयास गर्दै आएका कम्युनिष्ट पार्टी (एमाले–माके) शीर्ष नेतृत्वले एउटै मञ्चमा उभिएर हौसिएर हतारमा कम्युनिस्ट एकता नगर्ने र अहिलेलाई सत्ता सहकार्यमात्रै भएको स्पष्ट पारे । उनीहरुले कम्युनिस्ट एकताको विषय चर्चामा मात्रै सिमित रहेको सन्देश दिए । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट एकताको विषय व्यक्तिगत आकांक्षा मात्रै भएको बताए ।

‘तत्काल एकता गरिहालौं भन्ने तर्क व्यक्तिगत आकांक्षाको कुरा मात्रै हुनसक्छ’, एमाले अध्यक्ष ओलीले भने– ‘नेकपा विभाजनको कारण नागरिकले थाहा पाइसकेका छन् । हामी पार्टी एकीकरण गरिहालौं, पार्टी एकीकरण भइहाल्छ, यो अर्को व्यक्तिगत आकांक्षा, तुष्टिको कुरा मात्रै हुनसक्छ ।’ कम्युनिस्ट आन्दोलनको आम ट्रेन्ड एकता, एकीकरणकै भए पनि यसबीचमा कम्युनिस्ट आन्दोलनले दुई ठूला विभाजन व्यहोर्नुपरेको उनको भनाइ थियो ।

नेकपा विभाजन पछिको करिव तीन वर्ष सम्म राम्रो सम्बन्ध नरहेका ओली प्रचण्डबीच गत फागनु २१ को नयाँ सत्ता समीकरणयता कुरा मिल्दै आएको छ । कम्युनिष्ट एकताकै अभियानका रुपमा समाजवादी मोर्चा बनाएर अघि बढ्नुभएको नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै हौसिएर हतारमा कम्युनिस्ट एकताको पक्षमा नरहेको अभिव्यक्ति दिए । उनले भने – ‘हौसिएर हतारमा कम्युनिस्ट एकताको पक्षमा छैनौँ । नेकपा बनाउँदा त्यतिबेला हामी अलि हतारिएर हौसिएछौँ जस्तो भएको छ । कहिले फेरि सहकार्य भएको छ । विगतको तितो यथार्थबाट पाठ सिकेर अगाडि बढ्न आवश्यक छ ।’

कम्युनिस्ट पार्टीबिच एकता र सहकार्य हुँदा विगतमा दुई तिहाइ मत ल्याएको स्मरण गर्दै सम्पूर्ण कम्युनिस्ट शक्तिहरू एक ठाउँमा आउन आवश्यक भएपनि हतार नगर्ने दाहालको भनाई छ । नेकपा एमाले बाहेक पाँच कम्युनिष्ट घटकबीच समाजवादी मोर्चा बनाएर पार्टी एकता सम्म जाने लक्ष रहेको बताउँदै आएका प्रधानमन्त्री दाहालले एमालेको मञ्चबाट यस्तो सन्देश दिनुलाई कतिपय कम्युनिष्ट नेताहरुले वर्तमान सत्ता साँझेदारहरुबीच राजनीतिक लेनदेनमा अल्झिएको टिप्पणी गरेका छन् । सत्तरुढ गठबन्धनमा रहेका पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेले आयोजना गरेको हीरक जयन्ती तथा पूर्वराष्ट्रपति भण्डारीलाई गणतन्त्र गौरव सम्मान गर्ने कार्यक्रम बहिष्कार गरे ।

हीरक महोत्सवकै अवसरमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कम्युनिस्ट आन्दोलन पटक–पटक फुट र विभाजन हुनुमा सिद्धान्त र विचारले कि पदीय आकांक्षा र अवसरवादले भनेर समीक्षा गर्नुपर्ने अवस्था आएको टिप्पणी गरिन । ‘नेपाली कम्युनिस्ट आन्दोलनले हीरक महोत्सव मनाउँदै गर्दा नेपाली कम्युनिस्ट आन्दोलनमा पटक–पटक देखा परेको फुट र विभाजन साँच्चै सिद्धान्त, विचार र राजनीतिक कारणले भएको हो कि पदीय आकांक्षा, अवसरवाद र भड्काव हाबी हुँदा भएको हो ? भन्ने जस्ता विषयमा समीक्षा गरी ठोस निष्कर्ष निकाल्न सकिएन भने भविष्यमा कठिनता हुन्छ’, भण्डारीको भनाइ छ । नेकपा स्थापना दिवशको अवसरमा नेकपा एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई गणतन्त्र गौरव सम्मानबाट सम्मान समेत गरेको थियो ।