निर्वाचन प्रणाली परिवर्तन र राजनीतिक स्थायित्वका लागि कांग्रेस एमाले सँगै हुनुपर्छ -शेखर कोइराला

देशको आवाज
१७ वैशाख २०८१ १९:१०

झापा । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार चलाउनेभन्दा निर्वाचन प्रणाली परिवर्तन गरेर राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमाले एकै ठाउँमा उभिनुपर्ने बताएका छन् । सोमबार झापाको गौरादहमा कांग्रेस नगर कार्यसमितिको नवनिर्मित ‘बीपी स्मृति भवन’ उदघाटन् कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले अहिलेको निर्वाचन प्रणाली नै राजनीतिक स्थायित्वको बाधक रहेको भन्दै यो निर्वाचन प्रणाली रहँदासम्म राजनीतिक स्थायित्व नहुने बताए ।

राजनीतिक स्थायीत्वबिना आर्थिक विकास पनि नहुने उनको तर्क छ । आफू कुनै पनि हालतमा निर्वाचन प्रणाली परिवर्तन गरिछाड्ने अभियानमा लागेको समेत उनले बताए । कोइरालाले संकटको यो समयमा देशलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवस्यकता रहेको पनि बताए ।

सोमबार सम्पन्न तेस्रो लगानी सम्मेलनबाट अपेक्षा गरिएअनुसारको लगानी नआउने भन्दै कोइरालाले राजनीतिक स्थायित्वबिना नेपालमा कुनै पनि देश लगानी गर्न इच्छुक नरहेको बताए । ‘कुनै पनि देशले लगानी गर्नुपूर्व त्यो देशमा राजनीतिक स्थायित्व छ कि छैन, ऐन कानुन कस्तो छ ? सुशासनको अवस्था कस्तो छ भन्ने हेर्छ’, कोइरालाले भने, ‘ती सबै कुरा नभएको देशमा कसरी लगानी भित्रन्छ।’