अमेरिकाको केन्टकीमा नयाँ वर्ष बिशेष कार्यक्रम

दधिराम खतिवडा
३ वैशाख २०८१ ९:१३

अमेरिका,३ बैशाख । नेपाल अमेरिका सोसाइटी अफ केन्टकि (नास्क) को बृहत आयोजनामा शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम भब्यताकासाथ सम्पन्न भएको छ । नेपाली संस्कृति, परम्परा र वार्षिक पात्रो अनुसार नयाँ वर्ष वि। स। २०८१ लाई मध्यनजर गरी सप्ताहन्तमा सो कार्यक्रमको आयोजना गरिएको हो । अमेरिकास्थित केन्टकी राज्यको दक्षिणपूर्वमा अवस्थित लुइभिल सहरमा आयोजित उक्त कार्यक्रमको औपचारिक उद्घाटन बयोबृद्द ब्यक्तित्व प्रमुख अतिथि डिल्ली प्रसाद भट्टराई एवंम् नास्कका सभापति बद्री दाहालले संयुक्त रूपमा पानसमा दीप बालेर गरे।

साथै बिभिन्न संघसंस्थाका प्रतिनिधिहरूको विशेष आतिथ्यता रहेको थियो । कमेडियन कलाकार महादेव त्रिपाठिको बेजोड जादुमय प्रस्तुति कार्यक्रमको प्रमुख आकर्षण रहेको थियो भने संगीतकारद्वय अर्जुन थापा, उपेद्र शाहि निसाद, लोक गायक विष्णु डुम्रे, रिना महर्जन तथा अन्य संगीतकर्मीहरूको सांगीतिक प्रस्तुति बिशेष रहेको थियो । कार्यक्रममा लुइभिल र लेक्जिन्टन सहरबाट बिभिन्न संघसंस्थाका प्रतिनिधिहरू, बिभिन्न पेसा, ब्यवसाय र अध्यन गरी बसोबास गरिरहनुभएका समग्र प्रवासी नेपाली समूदायहरूको बाक्लो र उल्लेख्य उपस्थिति रहेको थियो ।

त्यसैगरी स्थानीय कलाकारहरुको एकल एवंम् सामुहिक नृत्य प्रस्तुतिले कार्यक्रमको रौनकता थपेको थियो । प्रत्येक प्रस्तुतकर्ताहरूलाई नास्कको तर्फबाट मायाँको चिनो र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । कार्यकमको सन्चालन धाराबाहिक रूपमा रियाज भण्डारी र प्रतिभा धितालले संयुक्त रुपमा गर्नुभएको थियो । नयाँ वर्ष वि। स। २०८१ को अवसरमा अमेरिकामा नेपालीहरूको बसोबास रहेका बिभिन्न राज्यहरूमा शुभकामना आदानप्रदान कार्यक्रम यसै सप्ताहन्तमा सम्पन्न भएको जानकारी प्राप्त भएको छ ।