रुसी सेनामा कार्यरत नेपालीलाई सकुशल उद्दार गर्न माग गर्दै गृहमन्त्री समक्ष पीडित परिवार

देशको आवाज
२३ चैत २०८० २२:५०

काठमाडौं,२३ चैत्र । ‘रुसी सेनामा आवद्ध नेपालीको जीवनरक्षार्थ अभियान’ले रुस र युक्रेन युद्धको पृष्ठभूमिमा रुसी सेनामा आवद्ध नेपालीको जीवनरक्षा तथा उद्दार गरी सकुशल नेपाल फिर्ताको पहल गरिदिन उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने समक्ष आग्रह गरेको छ।

केही पीडित परिवारसहित आज मन्त्री लामिछानेलाई ११ बुँदे मागसहितको ध्यानाकर्षण–पत्र बुझाउँदै सकुशल उद्दार, मृतक आश्रित परिवारलाई उचित राहत, मृतक भनिएका तर पुष्टी नभएकोको अवस्था सार्वजनिक, वेपत्ताको खोजी, युक्रेनले युद्धबन्दी बनाएकाको उद्दार र घाइतेको उचित उपचारलगायत विषयमा सरकारलाई गम्भीर हुन आग्रह गरेका हुन्।

रुसी सेनामा आवद्ध नेपालीको जीवनरक्षार्थ अभियानकी अभियान्ता कृतु भण्डारी नेतृत्वको टोलीले शुक्रबार साँझा गृहमन्त्रीलाई भेटर ११ बुँदे मागसहितको ध्यानाकर्षपत्र बुझाका हुन् । पीडितहरुको कहर सरकारले अझे नसुनेको भन्दै पटक पटक सरकारका सबै निकायमा पुगिसकेको अभियान्ता भण्डारीले बताइन् ।

पीडित पक्षसँगको कुराकानीका क्रममा मन्त्री लामिछानेले समस्याबारे आफू पूर्ण जानकार रहेको भन्दै अन्तर देशीय समन्वय प्रभावकारी नहुँदा समस्या भएको र त्यसबारे प्रधानमन्त्रीसँग तत्काल छलफल गर्ने बताए । ‘तपाईंहरुको पीडाबारे पूर्ण जानकार छु। नेपालभित्रै पनि समन्वय अभावका कारण थप पीडा खेप्नु परेको छ। यसबारे कसरी समन्वय गर्न सकिन्छ, आज भोलि नै प्रधानमन्त्रीसँग छलफल गर्छु’ मन्त्री लामिछानेले भने ।

रुसी सेनामा रहेका आफन्तलाई सकुशल फर्काइदिने भन्दै केहीले आफूहरुसँग पैसा लिएको भन्दै पीडितले तिनलाई पक्राउ गर्न गृहमन्त्री समक्ष मागसमेत गरेका थिए।