गैर कानुनी धन्दा गर्दै आएका तीन हजार पाँच सयबढी विदेशी निष्कासीत

देशको आवाज
१४ चैत २०८० ७:०८

काठमाडौं,१४ चैत्र । नेपालमा बसेर अनेकन गैर कानुनी धन्दा चलाउदै आएका तीन हजार पाँच सय भन्दा बण्ढी विपिभन्न देशका नागरिकलाई अध्यागमन विभागले निष्कासन गरेको छ। नेपालका विभिन्न भूभागमा रहेर आपराधिक गतिविधि गर्ने र गैरकानुनी रूपमा बसेका ३५ सय ७६ विदेशीलाई निष्कासन गरेको विभागले जनाएको हो। यसरी निष्कासनमा पर्नेमा सबैभन्दा बढी चिनियाँ नागरिक रहेको विभागको तथ्यांकमा उल्लेख छ।

अध्यागमन विभागले विदेशीहरूको प्रवेश र प्रस्थानलाई नियमित एवं नियन्त्रित गर्दै आइरहेको छ। सोअनुसार विभागले विदेशीहरूको अनुगमन तथा अध्यागमन र अपराध नियन्त्रण गर्ने क्रममा पछिल्लो ६ वर्षमा ३५ सय ७६ जना विदेशीलाई नेपालबाट निष्कासन गरेको अध्यागमन विभागका महानिर्देशक कोषहरि निरौलाले जानकारी दिए ।

उनले भने ‘हामीले अनुगमनलाई प्रभावकारी बनाएका छौं, अपराधकर्ममा लागेका र समय सकिँदासमेत अटेर गरेर बसिरहेकालाई खोजतलास गरी निष्कासन गर्ने क्रमलाई अझै तीव्रता दिइने छ ।’ विदेशबाट नेपालमा आएर गैरकानुनी रूपमा धर्म प्रचार गर्ने र धर्म परिवर्तन गराउने विदेशीका खोजीको विषय चुनौतीपूर्ण रहेको विभागका अधिकारीहरूको भनाइ छ। विभिन्न अपराध कर्म गरेर निष्कासनमा पर्नेमा संगठित अपराध गर्नेदेखि, यौनदुराचारी तथा यौनजन्य अपराधमा संलग्न तथा विभिन्न तस्करी धन्दामा संलग्न विदेशी नागरिक छन्। यस्तै, गैरकानुनी रूपमा नेपालमा बसोबास गर्दै आएका विदेशीहरूसमेत निष्कासनमा पर्दै आएका छन्।

निष्कासनमा पर्नेमा जालसाजी गर्ने, लागु औषध दुव्र्यसनी, विदेशी मुद्रा विनिमयमा ठगी गर्ने र अपहरणमा संलग्न भएका लगायत छन्। अहिले पनि मुलुकका कतिपय भूभागमा विभिन्नखाले अपराध कार्यमा संलग्न विदेशीहरू रहेको अध्यागमन अधिकारीहरूले बताएका छन् । त्यस्ता, विदेशीहरूको खोजतलासलाई तीव्रता दिइएको बताइएको छ ।

अध्यागमन विभागका अनुसार सन् २०१७ देखि २०२३ सम्मको अवधिमा ती विदेशीहरू निष्कासित भएका हुन्। जसअनुसार सन् २०१८ मा सबैभन्दा बढी ६ सय ७८ जना विदेशी निष्कासनमा परेका थिए । यसै गरी गत वर्ष सन् २०२३ मा मात्रै ४ सय ५८ जना विदेशीहरू निष्कासनमा परेका थिए । निष्कासनमा पर्नेमा सन् २०१७ मा ५ सय ५९ , सन् २०१९ मा ६ सय ७१, सन् २०२० मा ३ सय ३२, सन् २०२१ मा ३ सय ८, र सन् २०२२ मा ५ सय ७० जना रहेका छन् ।

यसरी निष्कासन हुनेमा २०२३ मा चीनका मात्रै २ सय ९ जना रहेका विभागको तथ्यांकले देखाउछ । यसैगरी सोही अवधिमा निष्कासन गरिएका अन्य देशका नागरिकहरूमा अमेरिकाका ३७, बंगलादेशका १९, बेलायतका १८, श्रीलंकाका ११, पाकिस्तानका १०, स्विडेनका १०, अफगानिस्तानका ९, जर्मनीका ८ र दक्षिण कोरियाका ७ जना रहेको अध्यागमन विभागले जनाएको छ ।

विदेशी नागरिकहरू खासगरी धर्म प्रचार, धर्म परिवर्तन, मानव बेचबिखन, लागु औषध कारोबारजस्ता गैरकानुनी कार्यमा सलग्न हुने गरेको र यसमा पनि धर्म प्रचार गर्ने कार्यको नियमन चुनौतीपूर्ण रहेको विभागका महामनिर्देशक निरौलाले बताए । यसै गरी क्षेत्रीय तथा अन्तर्राष्ट्रिय द्वन्द्व र त्यसले पार्ने आतंकवादी गतिविधि गैरकानुनी प्रवेश आदिमा जोखिमको पहिचान र रणनीति विकास गर्ने विषयसमेत च्ुनौतीपूर्ण रहेको विभागका अधिकृतको अनुभव छ।