टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति सर्वत्र विरोध

देशको आवाज
२७ कार्तिक २०८० २०:२२

काठमाडौ,२७ कात्तिक । सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयको सर्वत्र विरोध भएको छ । सरकारले उक्त निर्णय गरे लगत्तै सत्ता सहयात्री देखि प्रतिपक्षी दलका नेताहरु, सामाजिक अभियान्त, गैरसरकारी संस्थाहरु, सञ्चार माध्याम र अनलाईन प्लेटफर्मका क्षेत्रमा क्रियाशिल नागरिकहरुले विरोध जनाएका हुन् । टिकटक प्रयोगबाट नेपालमा नकारात्मक सन्देश प्रवाह गर्ने, समाजिक संरचना भत्काउने, व्यक्तिगत जिवनमा समेत प्रभाव पार्नेखालका गतिविधि बढेको भन्दै २७ कात्तिकमा टिकटक बन्द गर्ने निर्णय लिएको हो ।

सत्तारुद दल नेपाली कांग्रेसका नेता डा शेखर कोइराला, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य तथा सांसद सुनिल शर्मा, केन्द्रीय सदस्य नैनसिंह महरलगायतले सरकारको निर्णय गतल भएको टिप्पणी गरेका छन् । कांग्रेसका नेताहरुले टिकटक बन्द नभई नियमन गर्नुपर्ने बताएका छन् । लोकतान्त्रिक मुलुकमा अभिव्यक्ति स्वतन्त्रताको उच्च स्थान रहेको भन्दै उनिहरुले बढ्दो सूचना प्रविधिको विकाससँगै विचार अभिव्यक्तिका लागि सामाजिक संजाल प्रभावकारी माध्यमका रुपमा स्थापित भएको हुँदा त्यसको नियन्त्रण भन्दापनि नियमन गरेर सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठीत गर्न नहुने बताएका छन् ।

सरकारले टिकटक बन्द नभई समग्र सामाजिक सञ्जालहरुको उचित र प्रभावकारी नियमनमा ध्यान दिनुपर्ने नेताहरुको भनाइ छ । त्यस्तै प्रतिपक्षि दल एमालेृका नेता शंकर पोखरेल, सूर्यथापा, रास्वपाका सभापति रवी लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित विभिन्न संस्थामा आवद्ध राजनीतिक, सामाजिक अभियान्ताहरुले समेत सरकारको निर्णयको टिप्पणी गर्दै सामाजिक सञ्जालको उचित व्यवस्थापनमा लाग्नुपर्ने सरकार सामाजिक सञ्जाल प्लेटफर्म नै बन्द गरेर अधिनायकबादी बन्न खोजेको आरोप लगाएका छन् ।