कांग्रेसका युवा नेताहरुले देशभर उद्यमशील अभियान चलाउने

देशको आवाज
२४ चैत २०८० १४:४४

काठमाडौं,२४ चैत्र । नेपाली कांग्रेसका नेता रञ्जित कर्णसहित युवा नेताहरुले उद्यमशील अभियान चलाउने भएका छन्। यस अभियानबारे सभापति शेरबहादुर देउवालाई निवास बूढानीलकण्ठमा शुक्रबार भेटेर जानकारी गराइएको कर्णले बताए।

फागुन ७ देखि १० गतेसम्म गोदावरीमा भएको कांग्रेस महासमिति बैठकमा कर्णसहितले सुशासनका लागि उद्यमशीलता र विकासका लागि राजनीतिका लागि उद्यमशील अभियान सञ्चालन गर्ने सङ्कल्प पेस गरेका थिए। ‘सोही अभियानलाई कांग्रेसको आधिकारिक अभियानका रूपमा देशभरि अगाडि बढाउन आज हामीले सभापति शेरबहादुर देउवासँग परामर्श गर्दै अनुमति लिएका छौं,’ संयोजक कर्णले भने। सभापति देउवाले यो अभियान राम्रो भएकोले देशैभरि लैजान आग्रह गरेको अभियान्ताहरुले बताएका छन् ।

पार्टीका सबै तहका समितिमा रहेका युवाहरुलाई उद्यमशिलतातर्फ उन्मुख गराउने, पार्टीभित्र भएका उद्यमीहरुको अभिलेख राख्ने र उद्यमी बन्न चाहाने अर्को साथिलाई पुराना उद्यमीहरुमार्फत सहयोग सपोर्ट गर्न प्रेरित गराउने अभियान अन्र्तगत यो कार्यक्रम ल्याइएको युवा नेता लिलाबल्लभ दाहाल काकाले बताए । मुलुकमा बढ्दो बेरोजगारी समस्या समाधानका लागि यो एउटा महत्वपूर्ण उपाय हुन सक्ने भएकाले कार्यक्रमलाई अघिबढाउन सभापति देउवाले समेत पेरित गर्नुभएको दाहालको भनाई छ ।

पार्टीको विभिन्न जिम्मेवारीमा रहेका उद्यमी र नयाँ उद्यम शुरु गर्ने योजनामा भएका साथिहरुलाई यो अभियानमा सामेल हुन आह्वान गरेको उनिहरुले बताएका छन् । हाल यस अभियानमा लिलावल्लभ दाहाल (काका), योगराज कँडेल, राजेन्द्र तिवारी, विनिता अधिकारी, मन्दीप सुवेदी, दीपक पाण्डे, विनिता परियार, खगेन्द्र आचार्य, विनिता खड्का, उत्तम सुवेदी र विनोद पण्डित रहेका छन् । अभियानलाई फराकिलो बनाउँदै लैजाने युवा नेताहरुको योजना छ ।