विभागबाट १० प्रकारका औषधि उत्पादनमा रोक

देशको आवाज
२६ मंसिर २०८० २१:१०

काठमाडौं,२६ मंसिर । औषधि मुल्यांकन समितिबाट प्राप्त रायअनुसार औषधि व्यवस्था विभागले १० प्रकारका औषधि उत्पादनमा रोक लगाएको छ। उत्पादन मध्ये लिनाग्लिप्टिन २.५ एमजी, लिनाग्लिप्टिन १० एमजी, रिभारोक्स्बान ५ एमजी, एसिक्लोफेनाक २०० एमजी, एसिक्लोफेनाक ३०० एमजी औषधि उत्पादनमा रोक लगाइएको विभागका महानिर्देशक नारायण ढकालले जानकारी दिए ।

यस्तै लिनाग्लिप्टिन २।५ एमजी मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन २।५ एमजी मेटफर्मिन ८५० एमजी तथा लिनाग्लिप्टिन ५ एमजी मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन ५ एमजी मेटफर्मिन ८५० एमजी हाललाई उत्पादनमा रोक लगाइएको हो। यी औषधिहरु नेपाली कम्पनीबाट उत्पादित औषधिहरु रहेका छन्। महानिर्देशक ढकालका अनुसार ‘पहिले अनुमति दिइएको थियो, तर प्राविधिक मुल्यांकनका आधारमा तत्कालका लागि उत्पादनमा रोक लगाइएको हो।

औषधि सल्लाहाकार समितिको बैठकमा यसबारे थप निर्णय हुन्छ र समितिको बैठकमा यो पनि एउटा अजेन्डा बन्ने महानिर्देशक ढकालले बताए । साथै औषधि सल्लाहकार समितिबाट सिफारिस प्राप्त नहुँदा सम्मको लागि नयाँ उत्पादन नगर्न र बजारमा बिक्रि वितरण भइरहेको ब्राण्ड समेत थप उत्पादन नगर्न विभागले निर्देशन दिएको छ।