सार्वजनिक जग्गा खालि गर्ने निर्देशनको विरोधमा व्यवसायीहरु

देशको आवाज
२९ फागुन २०८० १५:१३

सुर्खेत,२९ फागुन ।  वीरेन्द्रनगर नगरपालिकाले सार्वजनीक जग्गामा बनाईका संरचना र गर्दै आएको व्यापार व्यवसाय हटाउन दिएको निर्देशनको विरोधमा व्यापारीहरुले धर्ना दिएका छन् । उद्योग वाणिज्य संघले व्यवसायीहरुलाई तत्काल बिनाविकल्प हटाउन नहुने भन्दै सुर्खेत उद्योग वाणिज्य संघको गेटमा मंगलबार धर्ना दिएका हुन् ।

सर्वदलीय बैठक राखेर सहमति गराउने आश्वासन दिएको उद्योग वाणिज्य संघले अहिलेसम्म पनि बैठक नराखेको व्यवसायिहरु बताउँछन् । वीरेन्द्रनगर वडा नम्बर ६ र ८ का सार्वजनिक जग्गामा व्यवसाय गरिरहेकाहरुलाई ठाउँ खाली गरिदिन भन्दै नगरपालिकाले गत माघमा अन्तिम पटक ३५ दिने सूचना जारी गरेको थियो । आफूहरुलाई उचित विकल्प दिए मात्र ठाउँ खाली गर्ने व्यवसायीहरुको अडानमा कायमै छ ।
उनीहरुले तत्काल सर्ने अर्को ठाउँमा व्यवस्थापन वा स्वयमले व्यवस्थापन गर्न निश्चित समय दिन नगरपालिकालाई आग्रह समेत गरेका छन् । नगरपालिकाले भने विकल्प दिने भन्दापनि सार्वजनीक जग्गाहरु खाली गर्नुपर्ने नत्र नियमानुसार नगरपालिका अघि बढ्ने बताएको छ । व्यवसायीहरुले अटेरी गरे बुधबारदेखि डोजर लगाएर अबैध संरचान हटाउने नगरपालिकाले चेतावनी पनि दिएको छ ।

सुर्खेत उद्योग वाणिज्य संघअन्तर्गतका सम्पूर्ण वस्तुगत समिति व्यवसायीको पक्षमा उभिएका छन । लामो समयदेखि आर्थिक मन्दी ब्यहोरिरहेका व्यवसायीलाई उचित विकल्प नदिई हटाउनु स्थानीय सरकारको गलतकार्य भएको बताएका छन् । ‘कोरोना कालदेखि शिथिल परेको व्यवसायलाई सरकारले मलजल गरी उकास्नुपर्नेमा नगरपालिकाले यसरी लखेट्न खोज्नु खेदजनक छ । स्थानीय सरकारदेखि केन्द्रीय सरकारलाई कर तथा नगरविकास समितिलाई हरेक महिना जग्गा भाडा दिइरहेको परिस्थितिमा अतिक्रमण गरेको भन्दै हटाउन खोज्नु लज्जास्पद हो,’ वस्तुगत समितिहरुले निकालेको ध्यानाकर्षण पत्रमा भनिएको छ ।