सेनाद्धारा निर्माणाधिन काठमाडौं–तराई/मधेश द्रुतमार्गमापर्ने सुरुङमार्गको काम तीब्र बन्दै

देशको आवाज
५ मंसिर २०८० ६:४५

काठमाडौं,५ मंसिर । नेपाली सेनाले जिम्मा लिएको काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) अन्र्तगत सुरुङमार्गको काम तीब्र गतिमा भइरहेका छ । तराई–मधेशलाई काठमाडौंसँग एक घण्टा २ मिनेटको दूरीमा ल्याएर वीरगञ्ज नाकाबाट अधिक लाभ हासिल गर्ने उद्देश्यसहित निर्माण थालिएको द्रुतमार्गको कतिपय कामहरु ढिला भएपनि सुरुङमार्गको काम तीब्रगतिमा अघि बढेको हो ।

सेनाको व्यवस्थापनमा निर्माण भइरहेको नेपाल सरकारको उक्त पहुप्रतिष्ठीत आयोजनाको सुरुङमार्गतर्फ ६ हजार ४१५ मिटर मध्य ३ हजार ८० मिटर भन्दा बढी काम सम्पन्न भएको नेपाली सेना विकास निर्माण निर्देशनालयका सहनिर्देशक महासेनानी विश्वबन्धु पहाडिले जानकारी दिनुभयो । प्रस्थान बिन्दु खोकना र अन्तिम बिन्दु निजगढ रहेको द्रुतमार्ग सडक आयोजनाको कुल लम्बाई ७०.९७७ किलोमिटर छ । द्रुतमार्गको १०.५९ प्रतिशत खण्डमा सुरुङ र ६.४१ प्रतिशतमा पुलहरु बन्नेछन् । अहिले केही पुलहरु र धेरैजसो काम सुरुङ मार्गकै भइरहेको पहाडिको भनाई छ ।

दुई खर्ब ११ अर्ब ९३ करोड रुपौयाँको उक्त द्रुतमार्ग निर्माणको काम हालसम्म २७.१९ प्रतिशत भौतिक र २९ प्रतिशत आर्थिक प्रगति भइसकेको छ । योजनाको तीनवटा सुरुङमार्गको काम धमाधम भइरहेको छ । पहिलो (महादेवटार) ३ हजार ३५५ मिटर सुरुङमार्ग मध्य १ हजार ५ सय मिटरकाम सकिएको छ । त्यस्तै दोस्रो (धेन्द्रे)सुरुङमार्ग १६३० मध्य ७८८ मिटर काम सम्पन्न भएको छ भने तेस्रो (लेनडाँडा) १४३० मिटरमा ८३१ मिटर काम सकिएको मसे पहाडिले जानकारी दिनुभयो । उक्त सडक आयोजनालाई ११ भागमा ठेक्का लगाएर १३ कल्ष्टरमा काम गर्ने नेपाली सेनाको योजना छ जसमध्य धेरैजसो क्लष्टरको काम भइरहेको नेपाली सेनाको विकास निर्माण निर्देशनालयले जनाएको छ ।

पुल र सुरुङमार्गको काम सबैभन्दा जटिल र खर्चिलो भएकाले पहिला सोही काम सम्पन्न गर्न लागीपर्ने नेपाली सेनाका प्रवक्ता समेत रहेका शैनिक जनसम्पर्क तथा सूचना निर्देशक कृष्णप्रसाद भण्डारीले बताउनुभयो । नेपाली सेनाले थालेको काठमाडौं–तराई÷मधेश द्रुतमार्गको काममा विभिन्न बाधा अड्चन आएपनि काम सम्पन्न गरेरै छाड्ने उहाँको भनाइ छ । अहिले पनि प्याकेज नम्बर ११ मा पर्ने काठमाडौंबाट सुरुकै विन्दु (खोकना) मा जग्गा विवाद भएको र त्यसलाई सहजीकरण गरेर जग्गा अधिग्रहणको काम भइरहेको भण्डारीले बताउनुभयो । २०८३ मा सक्ने अन्तिम मिति भएकाले नेपाली सेनाले तोकीएको समयमा काम सकेर नेपाल सरकारलाई सढक अस्तान्तरण गरिने उहाँको भनाइ छ ।