एमाले बैठक

नेता कार्यकर्ताको आचरणमा देखिएका विचलनहरुलाई अन्त्य गर्ने मुख्य एजेन्डा

देशको आवाज
९ फागुन २०८० ८:०१

काठमाडौं,९ फागुन । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जारी केन्द्रीय कमिटी बैठकमा बुधबारबाट समूहगत छलफल हुँदैछ। बैठक पार्टी मुख्यालय च्यासलमा चलिरहेको छ। बैठकमा प्रस्तुत चार वटा कार्ययोजनामा आजबाट समूहगत छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए। उनले छलफलका लागि ९ वटा समूह बनाइएको जानकारी समेत दिए।

बैठकमा पार्टीको समग्र साङ्गठनिक कामको समीक्षा, पार्टीको शुद्धीकरण तथा सुदृढीकरण कार्यक्रमको अवधारणा, जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबका विषय र समसामयिक प्रस्ताव छन्।

बैठक यही फागुन १० गतेसम्म सञ्चालन हुनेछ। आगामी २०८१ साललाई शुद्धीकरण र संगठन सुदृढीकरणको वर्ष बनाउने जनाएको एमालेले सांगठानिक समस्यादेखि नेता कार्यकर्ताको आचरणमा देखिएका विचलनहरुलाई अन्त्यका लागि एमालेले अभियान चलाउने नेता विशाल भट्टराइले बताए । पार्टीभित्र शुद्धीकरण अभियान सञ्चालन गर्न केन्द्रीय कमिटीको मंगलबारदेखि सुरू भएको बैठकमा प्रस्तुत भएको प्रस्तावमा केन्द्रीय सदस्यहरूले सामूहिक छलफल गरेर सुझाव पेश गर्नेछन् । प्रस्तावमा पार्टीभित्र देखिएका समस्याहरू पहिचान गर्दै त्यसको समाधानका लागि केन्द्रीय सदस्यसँग पार्टी नेतृत्वले राय मागेको छ ।