कांग्रेस महासमिति बैठकमा महामन्त्रीको प्रस्ताव

आगामी सबै निर्वाचनमा आफ्नै ताकतमा एक्लै भिड्ने

जीवन शर्मा
८ फागुन २०८० २१:५२

काठमाडौं, ८ फागुन । नेपाली कांग्रेसको महासमितिको बैठकमा आगामी चार वर्ष पछि हुने सबै निर्वाचनमा आफ्नै ताकतमा एक्लै भिड्ने हैसियत निर्माण गर्नुपर्ने प्रस्ताव आएको छ । पार्टी महामन्त्री गगन थापाले औपचारिक रूपमै चुनावी गठबन्धन नगर्ने संकल्प गर्नुपर्ने भन्दै बैठकमा प्रस्ताव पेश गरेका हुन् । बैठकको दोस्रो दिन महामन्त्री थापासहित उपसभापति पूर्णबहादुर खड्काको नीति प्रतिवेदन र महामन्त्रीद्धय गगन–विश्वप्रकाश शर्माको सांगठनीक÷राजनीतिक प्रतिवेदन पेश भएको छ । महामन्त्री थापाले ‘प्रिपोल एलाएन्स’ अर्थात चुनावी गठबन्धन नगर्ने एजेन्डालाई जबरजस्त उठाउँदा अर्का महामन्त्री विश्वप्रकाश शर्माले यसलाई मध्यमार्गी धारमा लैजान खोजेका छन् । उपसभापति खड्काको प्रस्तावमा भने गठबन्धनबारे केही लेखिएको छैन् ।

महामन्त्री थापाको सांगठनीक प्रतिवेदनमा भनिएको छ, ‘कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा निर्वाचन पछाडि निश्चित साझा नीति तथा कार्यक्रममा बनाएर सरकार सञ्चालनका लागि अन्य दलसँग तालमेल गर्ने कुरा स्वभाविक हुनसक्छ । तर, निर्वाचन पूर्वको गठबन्धन लोकतन्त्रमा नियमित राजनीतिक अवस्था नभएर एउटा बाध्यात्मक परिस्थितिको उपज थियो भन्ने कुरालाई मनन गर्दै नेपाली कांग्रेस यस महासमिति बैठकबाट पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छ– हामी भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै तागतमा एक्लै लड्ने छौँ र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिन्ह रुख मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौँ ।’

चार वर्ष पछि हुने चुनावी गठबन्धनबारे अहिले नै निर्णय गर्न नहुने भन्दै पार्टी सभापति शेरबहादुर देउवाले सोमबार बैठक उद्घाटन सत्रमै असहमति जनाएका थिए । देउवाले भनेका थिए–‘भविष्यमा राजनीतिक गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालीन परिस्थितिमा निर्भर हुने भएको हुँदा पार्टीले तत्कालीन परिस्थिति अनुसार गठबन्धनको औचित्य सान्दर्भिकता लगायतका विषयमा ठोस मूल्याङ्कन र छलफल गरी त्यसै बेलामा उचित निर्णय लिन सक्नेछ ।’ तर, महामन्त्री थापाले आफ्नो अडान कायमै राखेसँगै उहाँको प्रस्तावका सन्दर्भमा राती अवेरसम्म सभापति–महामन्त्रीबीच रस्साकसीपछि सभापति देउवाले सोमबार मध्यराती सहमति जनाएपछि बैठकमा प्रस्तुत गर्न सम्भव भएको थियो ।

उता, अर्का महामन्त्री विश्वप्रकाश शर्माको राजनीतिक प्रतिवेदनमा मध्यमार्गी बाटो रोजेको देखिन्छ । गठबन्धन आगतको सम्झौता नभई विगतले बोकाएको अभिभारा भएको उहाँले उल्लेख गरेका छन् । शर्माको प्रतिवेदनमा भनिएको छ, ‘हामीले के हेक्का राख्नै पर्छ भने गठबन्धन छोड्न हामी कुनै पनि दल स्वतन्त्र छौँ, तर गठबन्धनमा रहेर स्वतन्त्र गतिविधि गर्न हामी स्वतन्त्र छैनौँ । केन्द्र र प्रदेश दुवै ठाउँमा विश्वासको निश्चित आधारमा कार्य गर्न सकिएन भने त्यसले गठबन्धनको भविष्य संकटमा पर्नेछ ।’ अन्य दलसँगको चुनावी या सत्ता गठबन्धन दल र दलका बीच संस्थागत निर्णयको आधारमा हुने उनले बताएका छन् । यसअघि केन्द्रीय समिति बैठकमा दलहरूलाई गठबन्धन बनाउनै पर्ने बाध्यता रहेको औँल्याएका महामन्त्री शर्माले थापाको अडानलाई साथ दिदै आफ्नो प्रतिवेदन सच्याउदै गठबन्धन संस्कृतिको विषयलाई प्रवेश गराएका हुन् ।

उपसभापति पूर्णबहादुर खड्काले भने आफ्नो नीति प्रतिवेदनमा कुनै दलको एकल बहुमत पुग्ने सम्भावना कम रहेकाले चुनावी गठबन्धन गर्न बाध्य भएको दर्शाएका छन् । उनले प्रतिवेदनमा भनेका छन ‘नेपालले मिश्रित निर्वाचन प्रणाली अंगीकार गरेका कारण संसदमा कुनै पनि दलको एकल बहुमत पुग्ने सम्भावना निकै कम छ । सरकार गठनकै लागि पनि गठबन्धन बनाउनै पर्ने बाध्यता रहेको अवस्थामा अस्थिरता निम्तिन सक्ने अवस्थालाई ध्यान दिँदै र विगतका अनुभवबाट पाठ सिक्दै आवश्यक नीति तय गरिनुपर्छ ।’

पार्टीको तीनवटै प्रतिवेदन माथि महासमिति सदस्यहरुबीच समुहगत छलफल हुने नेपाली कांग्रेसले जनाएको छ । प्रतिवेदनका सन्दर्भमा महासमिति सदस्यहरुबीच पनि भिन्न भिन्न धारणहरु आइरहेका छन् । महामन्त्रीको प्रस्तावका सन्दर्भमा कतिपय महासमिति सदस्यले पार्टी र देश हितमा हरेको व्याख्या गर्दै आएका छन भने पार्टी सभापति निकटका केहीले भने उक्त प्रस्तावदलाई चार वर्ष पछिको एजेन्डालाई अहिले नै पस्कीएर कार्यकर्तामाझ लोकप्रियताको कमाउने योजना रहेको टिप्पणी गरेका छन् ।