विभागले ६ महिना अघि सरुवा गरेका कर्मचारीलाई हाकिमले अझै दिएनन रमना

देशको आवाज
२९ फागुन २०८० १४:५६

काठमाडौं, २९ फागुन । नापी कार्यालय गाईघाट, उदयपुरमा नापी अधिकृत इन्द्र कुमार साहले विभागले सरुवा गरेका कर्मचारीलाई रमना नदिई साविककै कार्यालयमा हाजिर गराउदै राखेका छन् । भुमिसुधार विभागले असोज १५ मा धनकुटा सरुवा गरेका नापी कार्यालय गाईघाटका सर्भेक्षक अतिस कुमार मण्डललाई उनले सोही कार्यालयमा हाजिर गराईरहेका हुन् ।

उनीसँगै सरुवा भएका अधिकृतले तत्काल रमना बुझेर विभागले पठाएको कार्यालयमा गएपनि सर्भेक्षक मण्डल भने गैह्र कानुनीतवरले पुरानै अड्डामा बसिरहँदा उनिसहित कार्यलय प्रमुख समेत विवादमा तानिएका छन । तर कार्याल प्रमुख साहले आफ्नो सजिलोका लागी रमना नदिएको बताए । ‘संस्थाको र मेरो कामको सजिलोका लागी मैले रमना दिएको छैन’, कार्यालय प्रमुख साहले भने–‘उहाँ विगत चार पाँच वर्षदेखिनै यही बसेर सबै काम जानेको छ भनेर राखेको हुँ ।’

पुरानो कार्यालय प्रमुख विभागले पठाएको कार्यक्षत्रमा गएपछि कार्यालय प्रमुखको जिम्मेवारी लिएर आएका नापी अधिकृत साहले कर्मचारीलाई रमना नदिदा उनि सरुवा भएको जाने धनकुटाको काम समेत प्रभावित भएको छ । विभागबाट सरुवा भएका कर्मचारीलाई ६ महिना सम्म रमना नदिई सोही कार्यालयमा राख्नु कानुन विपरित कार्यभएको भन्दै विभागमा उजुरी समेत परेको छ । तर, कार्यालय प्रमुखले सरुवा भएका कर्मचारीलाई नै आफू निकट राखेर कार्यालय भन्दापनि फिल्डको काममा किन खटाइरहेका छन ? भन्ने गम्भीर प्रश्न उठेको छ । विभागले सरुवा गरिसकेका कर्मचारीलाई रमना दिनुको सट्टा कार्यालय प्रमुख साहले फिल्डको काम दिएर गैह्रकानुनी तवरले राखेको विषयमा विभागले कार्यालयप्रमुख सोधखोज गर्ने जनाएको छ ।

सरुवा भएरपनि त्यही बसिरहेका सर्भेक्षक मण्डलले पैसा उठाएर कार्यालयप्रमुख समेतलाई भाग पुर्याउने गरेको सूचना हामीलाई उपलब्ध भएको छ । रकम कारोवारको विषयमा कार्यालय प्रमुख साहले भने कोही पनि चोखो नरहेको प्रतिकृया दिए । उनले भने–‘ कसले भनेको तपाइँलाई ? उसलाई लिएर महाँ आउनुस् । हामीलाई थाहा छैन् कसले कसले के–के गर्छन भनेर ? को चोखो छ यो देशमा ? ।’ तालुक अड्डाले सरुवा गरेका कर्मचारीलाई जवरजस्ती सोही कार्यालयमा हाजिर गराउँने हाकीमको व्यवहारप्रति अन्य कर्मचारी समेत सन्तुष्ट छैनन् । उक्त कार्यालयमा अहिले नापी अधिकृत साह र सर्भेक्षक मण्डल एतातिर छन भने बाँकी कर्मचारीहरु अर्को समुहमा विभाजित भएको बताइएको छ ।