सबैको सहकार्य र समन्वमा कोशी प्रदेशको बृहत स्वास्थ्य सुधार गर्छौ – निर्देशक बस्नेतल

नागरिक स्वस्थ भएभने मात्रै सिंगो प्रदेश स्वस्थ हुन्छ

देशको आवाज
८ फागुन २०८० २३:०२

विराटनगर, ८ फागुन । कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले कोशी प्रदेश अन्र्तगत सबै जिल्ला तथा पालिकाको स्वास्थ्यसेवालाई प्रभावकारी बनाउन माननीय मन्त्रीसहित सम्बन्धित सबै सरोकारवालासँगको समन्व र सहकार्य आवश्यक रहेको बताएका छन् । कोशीका १४ वटै जिल्लाको स्वास्थ्यको स्थितिकाबारेमा नजिकबाट नियालेका निर्देशक बस्नेतले नागरिकको स्वास्थ्य पहिलो प्राथमिकतामा पर्ने भएकाले सबै स्थानीय तह र प्रदेशसरकार समेतको समन्वयमा स्वास्थ्यका क्षेत्रमा बृहत काम गर्न सकिने बताएका हुन् ।

‘घर घरमा स्वास्थ्य सचेतना जगाउनु छ’, उनले भने–‘पहिलो कुरा नागरिक स्वस्थ भएभने मात्रै सिंगो प्रदेश स्वस्थ हुने हो । त्यसका लागी स्थानीय सरकार र प्रदेश सरकारसँग निर्देशनालयले समन्वयको अपेक्षा गरेको छ । हामीले स्वास्थ्य शिविर,खोपसेवा, हात्तिपाईले, हेपाटाइटिस,कालाज्वर, निमोनीया, आमा तथा बाल स्वास्थ्यका क्षेत्रमा निकै कामहरु गर्नुछ ।’ अन्य सरुवा तथा नसर्ने रोगहरुसमेतको पालिकागत डाटामा काम गर्नुपर्ने भन्दै बस्नेतले प्रदेशमा उपलब्ध सबै सरकारी तथा निजी अस्पतालमा आफ्नो सेवा उपलब्ध गराउन राष्ट्रिय स्वास्थ्य बीमा संगठनसँग सहकार्य गर्नुसमेत आब्हान गरेका छन् ।

निर्देशनालयले सरकारी जिल्ला अस्पतालमा सुसज्जित, पूर्ण कार्यात्मक र गुणस्तरीय उपचार निर्माण गर्ने लक्ष्य राखेको उनले बताए । सबै जिल्ला अस्पतालमा विभिन्न क्षेत्रका विशेषज्ञ डाक्टरहरू नियुक्त गर्ने र निकट भविष्यमा सबै गाउँपालिका उप–अस्पतालमा चिकित्सक र स्त्री रोग विशेषज्ञ भर्ना गर्ने लक्ष्यसमेत रहेकाले त्यसका लागी सम्बन्धीत सरोकारवाला निकायसँगको समन्वय आवश्यक रहेको बताए । प्रत्येक स्वास्थ्य संस्थाले, विशेष गरी निजी स्वास्थ्य संस्थाहरूमा नियमित निरीक्षण गरी उपचारको कम लागतको साथ गुणस्तरमा वृद्धिमा ध्यान दिनका लागी योजना बनाउनुपर्ने उनको भनाई छ ।