संविधानको धारा १६८ (२) मा फर्केर सरकार गठनको दाबी पेश गर्न आह्वान

देशको आवाज
२३ चैत २०८० १७:३०

काठमाडौं,२३ चैत्र । सुदूरपश्चिमका प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) मा फर्केर बहुमतको सरकार गठनका दाबी पेश गर्न आह्वान गरेका छन् । प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार गठनका दाबी पेश गर्न आह्वान गरेका हुन् । जबकी निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाह संविधानको धारा १६८ (३) अनुसार २६ माघ २०७९ मा मुख्यमन्त्री बनेका थिए ।

त्यसैले उनले विश्वासको मत नलिइ राजीनामा दिएकाले १६८ (५) अनुसार सरकार बन्ने अनुमान थियो । तर प्रदेश प्रमुख मियाँले कानुनी परामर्शपछि धारा १६८ (२) अनुसारकै सरकार गठनको आह्वान गरेका हुन् । ‘धारा १६८ (३) अनुसार मुख्यमन्त्री बने पनि विश्वासको मत लिएर १४ महिना सरकार चलाएकाले फेरि उपधारा २ मा जानु संविधान विपरीत हुन्न भन्ने परामर्श आयो’ प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शैलेशराज ढुंगानाले भने, ‘उपधारा ५ मा जाँदा प्रदेशसभा विघटनतिर पनि जानसक्ने भएकाले सरकार गठनको विकल्प दिनुपर्छ भनेर प्रदेश प्रमुखले बहुमतको सरकार गठनका लागि आह्वान गर्नु भएको हो ।’

दलहरूलाई ९ दिनको समय दिइएको छ । अब बहुमत जुटाउन सक्ने दलका नेताले वैशाख २ बेलुकी ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्नुपर्नेछ ।