टेलिकमको भ्रष्टाचारमा प्रचण्ड,सुमार्गी देखि ज्ञानेन्द्रका ज्वाई सम्मको संलग्नता खुलासा

देशको आवाज
२२ चैत २०८० ११:४८

काठमाडौं,२२ चैत्र । नेपालको टेलिकम क्षेत्रमा भएको भ्रष्टाचारमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ को संलग्नता खुलासा भएको छ । बेलायती पत्रकार टम बरजिसको नयाँ पुस्तक ‘कुकुल्याण्ड’ले नेपालको टेलिकम क्षेत्रमा भएको भ्रष्टाचारमा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड‘ समेत संलग्न रहेको खुलासा गरेको हो। बेलायती पुस्तक ‘कुकुल्याण्ड’ ले व्यापारी अजय सुमार्गी प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को आशीर्वाद र सहयोगमा कसरी अर्बपति भए भन्ने विषयमा सनसनीपूर्ण खुलासा गरेको हो।

केही साता अघि मात्रै बजारमा आएको यो पुस्तकमा प्रधानमन्त्री प्रचण्डको नाम नेपालमा भएको टेलिकम अनियमितता र भ्रष्टाचारका विभिन्न प्रसंगहरूमा उल्लेख छ। कुकुल्याण्डमा प्रचण्डका घरबेटी, व्यवसायी अजेयराज सुमार्गी, निजी टेलिकम कम्पनीहरू र पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाईंको संलग्नतासमेत उल्लेख गरिएको छ। यसमा उनीहरूबीच भएको टेलिकम कारोबार र अनियमितताको विस्तृत विवरण समावेश रहेको छ।

पुस्तकले माओवादी र टेलिकम कम्पनीहरूको सम्बन्ध पनि देखाएको छ। १६ हजार नेपालीको ज्यान लिने सशस्त्र युद्धपछि सन् २००६ मा भएको सडक आन्दोलनले ज्ञानेन्द्रको निरंकुशता असफल बनाएको र स्वाभाविक रूपमा सत्ताच्यूत भएपछि राजदरबारको प्रभावमा कमी आएको समावेश गरेको छ।

पुस्तकमा माओवादीसँग नजिक हुन सुमार्गीले के के गरे ? भर्खरै युद्ध गरेर काठमाडौं आएका प्रचण्डलाई सुमार्गीले उनको लागि आवश्यक सबै बन्दोबस्त मिलाएको, बस्ने बास दिएको, राम्रो ब्रान्डको ह्विस्की खुवाएको प्रसंगहरू पुस्तकमा छन्। प्रचण्डलाई रक्सीको स्वाद मन परेको र उनका लागि सुमार्गीले रक्सीको खोलो नै बगाएको प्रसंग पुस्तकमा उल्लेख छ।

पुस्तकमा युद्धका बेला ‘बैंक लुटपाटमा संलग्न भएका’ माओवादीले त्यसपछि नक्कली लडाकुको नाममा पैसा जम्मा गरेको चर्चा गरिएको छ। पुस्तकमा कसरी उच्च राजनीतिक व्यक्तित्वहरू पनि व्यापारीहरूको प्रभावमा परेका थिए भन्ने विषय समावेश छ।

कुकुल्याण्ड मोहम्मद अमेर्सी जस्ता टेलिकम विचौलियाहरूको अवैध कारोबार बारे केन्द्रित पुस्तक रहेको छ। सुमार्गीको अपत्यारिलो आर्थिक हैसियत परिवर्तनप्रति सबैले शंका गरिरहेको बेला माओवादीले उनलाई कालो धनतर्फ धकेलेको र त्यहीबेला उनको भेट ‘भविष्यका कल्याणकारी’ मोहम्मद अमेर्सीसँग भएको पुस्तकमा उल्लेख छ। पुस्तकका अनुसार सुमार्गीले पछि उनलाई प्रचण्डसँग भेट गराएका थिए।

बरजिसले अमेर्सीसँग अन्तर्वार्ता लिने क्रममा आफूसहित टेलियासोनेराका कार्यकारी प्रमुख लार्स नेइबर्ग र उनका दुई जना विश्वासपात्र अनि एक जना धनी नेपाली साझेदारले नेपाली प्रधानमन्त्री प्रचण्डसँग भेटेको प्रसंग पुस्तकमा उल्लेख गरेका छन्। भेटमा प्रचण्डले उनीहरूलाई सबैभन्दा ठूलो करदाताको रूपमा स्वागत गरेको र वैदेशिक लगानी गर्न आह्वान गरेको प्रसंग पनि उल्लेख छ।

पत्रकार बरजिसले पुस्तकका लागि अधिकांश समय अफ्रिका र एसियाली मुलुकहरूमा गएर नै अनुसन्धान गरेका थिए। बरजिस युद्ध सरदार, संगठित अपराध, अवैध व्यापार र कालो धनका बारेमा केन्द्रित भएर रिपोर्टिङ गर्छन।