अमेरिकामा गैरआवासीय नागरिकता सम्बन्धि अन्तर्क्रिया सम्पन्न

दधिराम खतिवडा
१९ चैत २०८० ६:२९

टेक्सस,१९ चैत्र । गैरआवासीय नेपाली संघ (एनआरएन) अमेरिका अन्तर्गत टेक्सास च्याप्टरको बिशेष संयोजनमा गैरआवासीय नागरिकताका अवसर र चुनौतीका विषयमा अन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । नेपालीहरूको बसोबासका हिसाबले मिनि नेपाल मानिने टेक्सस राज्यको अर्भिङ सहरमा आयोजित उक्त अन्तर्क्रियामा गैरआवासीय नेपाली नागरिकताका फोकल पर्सन सरोज दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।

सो कार्यक्रममा यसै वर्ष कार्यान्वयनमा ल्याइएको नेपाल सरकारले उपलब्ध गराउने गैरआवासीय नागरिकता प्राप्तिका लागि आवश्यक पर्ने कानुनी प्रक्रिया, अवसर र चुनौतीका विषयमा बृहत् परिचर्चा गरिएको थियो । ४० जनाको हाराहारीमा सहभागिता रहेको उक्त कार्यक्रममा एनआरएनका फोकल पर्सन सरोज दाहालले सहजीकरण गर्दै सहभागीहरूको जिज्ञासालाई सम्बोधन गर्नुभएको थियो ।

उहाँले गैरआवासीय नेपाली नागरिकताबाट गर्न सकिने कामका विषयमा प्रस्ट पार्नुभएको थियो । उक्त सभामा गैरआवासीय नेपाली संघ अमेरिका ९एनआरएन० का पदाधिकारीहरू, पुर्वपदाधिकारीहरू, नेपाल अमेरिका पत्रकार संघका पदाधिकारीहरू, प्रबुद्द सामाजिक ब्यक्तित्वहरू, ब्यवसायीहरू लगायत सर्बसाधारणको उपस्थिति रहेको थियो ।

गैरआवासीय नेपाली नागरिकताको आवेदन दिने प्रक्रिया

गैरआवासीय नेपालीले गैरआवासीय नेपाली नागरिकताको प्रमणपत्र लिन विदेशकै राजदूतावास वा महावाणिज्य दूतावासबाट निवेदन दिन सक्ने व्यवस्था गरेको छ । नेपाल नागरिकता ९तेस्रो संशोधन० नियमावली २०८० बमोजिम गैरआवासीय नेपाली नागरिकता लिनका लागि हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपि, नेपालको संविधान मान्ने प्रतिवद्धता, विदेशी नागरिकता लिएको प्रमाण आदि कागजात पेश गर्न सुझाएको छ ।

गैरआवासीय नेपालीले नागरिकताका लागि निवेदन दिएपछि नेपाली दूतावास वा महावाणिज्य दूतावासले १५ दिनभित्र सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन पठाउनुपर्नेछ । यसरी निवेदन आएपछि प्रमुख जिल्ला अधिकारीले ती गैर आवासीय नेपालीलाई चिन्ने एक नेपाली नागरिकले सनाखत गर्नुपर्नेछ ।

यस्तो नागरिकता लिन चाहने गैरआवासीय नेपालीले आफू वा आफ्नो बाबु, आमा बाजे वा बज्यैमध्ये जसको नेपाली नागरिकताको आधारमा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिने हो सोही नागरिकताको प्रमाणपत्र जारी भएको जिल्लाको प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ ।

प्रमुख जिल्ला अधिकारीलाई गैर आवासीय नेपालीले पेश गरेको विदेशको नागरिकता र राहदानीमा शंका लागेमा सम्बन्धित राजदूतावास वा महावाणिज्य दूतावासलाई वैधता जाँच गर्न लगाउन सक्नेछ । यसरी वैधता जाँचको निवेदन आएमा १५ दिनभित्र दूतावास वा महावाणिज्य दूतावासले बुझेर जानकारी गराउनुपर्छ ।

गैरआवासीय नेपाली नागरिकता दिनुअघि प्रमुख जिल्ला अधिकारीले सम्बन्धित व्यक्तिलाई नेपालको संविधान र कानुन मान्ने प्रतिवद्धता अर्थात शपथ गराउनुपर्ने गृह प्रशासनले बताएको छ ।
गैरआवासीय नेपाली नागरिकताका लागि फारम यहाँबाट डाउनलोड गर्न सकिनेछ ।

गैरआवासीय नेपाली नागरिकता प्रमाणपत्र सम्बन्धी अनुसूची फारम (moha.gov.np)