भाग्यमानी मन्त्री चैधरी

नियुक्त हुनसाथ जम्बो टोलीसहित अमेरिका भ्रमण

देशको आवाज
२५ फागुन २०८० २१:१६

काठमाडौं,२५ फागुन । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी यूएन वुमनको कार्यक्रममा सहभागी हुन अमेरिका जाने भएकी छिन् । ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनको ६८ औं सत्रमा भाग लिन मन्त्री चौधरी फागुन २६ गते मन्त्रालयका सचिव सुमनराज अर्यालसँगै २ सहसचिव सहित ७ र अन्य निकायबाट समेत गरी १५ जनाको जम्बो टोली लिएर अमेरिका जाने तयारी गरेकी हुन् ।

मन्त्री नियुक्त हुनेवित्तिकै अमेरिका भ्रैमणमा निस्कन लागेकी मन्त्री चौधरी गठबन्धन सरकारकै भाग्गमानी मन्त्री ठहरिएकी छन् । मन्त्री चौधरीको नेतृत्वको टोलीलाई सम्मेलनमा भाग लिन बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको थियो । सम्मेलनमा महिला आयोगबाट ३ जना पदाधिकारी र २ कर्मचारीसहित ५ जना, राष्ट्रिय योजना आयोगबाट महिला मामिला हेर्ने सदस्य, समाज कल्याण परिषदबाट २ जनासहित महिला अधिकारवादीहरु समेतको सहभागिता रहनेछ । कार्यक्रममा सहभागी हुन विभिन्न महिला अधिकारवादी संघ संस्थाबाट पनि प्रतिनिधिहरु गइरहेका छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको नेतृत्वमा सम्मेलनमा भाग लिने भनेर अघिल्लो गठबन्धनको सरकारको मन्त्रिपरिषद्ले नै निर्णय गरेको थियो । सोहि निर्णय अनुसार नवनियुक्त मन्त्री चौधरीको भ्रमण तय भएको मन्त्रालयले जनाएको छ । मन्त्री नेतृत्वको प्रतिनिधि मण्डलमा अमेरिकास्थित नेपाली दूतावासबाट ३ जना सहभागी हुने बताइएको छ । मन्त्रालयका अधिकारी सहित मन्त्री र सचिवको भ्रमण खर्च सरकारले ब्यहोर्ने छ । अन्यहरु व्यक्तिगत खर्चमा अमेरिका जानेछन् ।

मन्त्री चौधरीको नेतृत्वको प्रतिनिधिमण्डलमा अघिल्लो प्रतिनिधिमण्डलको टोली भन्दा सानो भनीएपनि १५ जना पुग्ने मन्त्रालय श्रोतको दाबी छ । चौधरी बुधबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त भएकी थिइन् । बुधबारै मन्त्रालयको कार्यभार सम्हालेसँगै मन्त्री चौधरीले सचिव, सहसचिव लगायत कर्मचारीहरुसँग महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका सवालमा प्रत्यक्ष देखीने कार्यहरु गर्न आफू आएकोले सकारात्मक र रचनात्मक सहयोग गर्न अनुरोध गरेकी थिइन् ।