हात्ती प्रभावित क्षेत्रको अध्यायनमा मुख्यमन्त्रीको टोली २४३ किलोमिटर पदयात्रामा

देशको आवाज
१३ फागुन २०८० ८:००

विराटनगर ,१२ फागुन । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसहितको टोलीले हात्ती प्रभावित क्षेत्रको अध्यायनमा मुख्यमन्त्रीको टोली २४३ किलोमिटर पदयात्रामा निस्कीएको छ । बुधबारबाट यात्रामा निस्कीएको मुख्यमन्त्री कार्की, पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती, सचिव विशाल घिमिरेसहितको टोलीले शनिबार मोरङको लेटाङबाट सुरु गरेको पदयात्रा सुनसरीको इटहरीस्थित तालतलैमा पुगेको हो ।

हात्तीका गौँडा गौँडा चाहर्दै हात्ती पीडित नागरिकसँग संवाद गर्दै मुख्यमन्त्रीको टोलीले आज पाँच दिनको यात्रा तय गरेको जनाएको छ । कार्कीले दुवै खुट्टामा पट्टि बाँधेका पैदलयात्राको अभियानमा छन् । झापाको बाहुनडाँगीबाट सुरु भएको पदयात्राले २४३ किलोमिटरको दुरी पार गर्दै उदयपुरको कटारीस्थित बेलसोत बजारमा फागुन १६ गते पुग्नुपर्ने मुख्यमन्त्री कार्कीले देशको आवाजलाई बताए । पदयात्रा तय गरेको उक्त क्षेत्र हात्तीको बाटो मानिन्छ ।

यात्राका क्रममा उनिहरुले हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई भेट्दै उनिहरुको आर्थिक सामाजिक अवस्था बुझ्दै हिडेका छन् । त्यस्तै हात्ति व्यवस्थापनको विकल्पका बारेमा समेत छलफल चलाउँदै हिडेका प्रदेश सरकारको टोलीले हात्तीले नौ वटा करङ भाँचिदिएको मान्ेछसँगसमेत भेटेर उनको अवस्था बुझेको छ । हात्तिपिडितहरुसँगको भेटपछि मुख्यमन्त्री कार्कीले अनुभव सुनाउँदै भने ‐‘हामीले पत्रिकामा पढेको, टिभीमा हेरेभन्दा, रेडियोमा सुनेभन्दा र सांसदले उठाएको आवाज भन्दा अवस्था फरक पायौँ । जनताको चाहना र हाम्रो आवाजमा केही न केही फरक पायौँ । सरकारको बुझाइ पनि नमिलेको र अभियन्ताको बीचमा पनि समानता नरहेको र यथार्थ अर्कै रहेको पाइयो ।’

जहाँबाट हात्ती ओहोरदोहोर गर्छ त्यसलाई सिमानाको रूपमा लिने गरेको भएपनि हात्तीलाई कुनै सिमाना थाहा नभएको कार्कीले बताए । हामीले हात्तीबाट सिर्जित समस्या समाधानका लागि भन्दै दुई वटा विचारमा बहस गरिरहेका थियौँ’, उनले भने ‐‘एउटा हात्तीमैत्री वातावरण बनाउनु पर्छ भन्ने थियो भने अर्को हात्तीलाई नियन्त्रणमा गर्नुपर्छ भन्ने थियो । हामीले हात्ती कोरिडोर नै बनाउन लाग्यो भन्ने पनि थियो । हात्ती नियन्त्रण गर्नुपर्छ भन्नेहरूसँग पनि संवाद ग¥यौँ । तर, करेन्टको तार लगाएर पनि पाँच वर्षसम्म धान्यो त्यसपछि धानेन, खाल्डो खनेर पनि धानेन, ढिस्को लगाएर पनि धानेन । त्यस कारण जति गरेपछि हात्ती छिर्छ (नियन्त्रण हुँदैन) भन्ने कुरा अहिले थाहा भयो ।’ देशको आवाजसँगको छोटो संवादमा उनले थपे ‘बोर्डरमै हात्ती नियन्त्रण गर्नुपर्छ कि भन्ने कन्सेप्ट पनि थियो । तर, नियन्त्रण गर्न सकिँदैन भन्ने कुरा आयो । त्यस्तै हात्ती मैत्री भन्नेहरूको पनि कुरा सुन्यौँ । तर, धेरै हुलका हुल हात्ती आउँछ त्यसलाई रोकेर केही छिरेका हात्तीका लागि मात्रै हात्तीमैत्री भन्न खोजेको भन्ने कुरा आयो । त्यस कारण हामी अध्ययन गर्दै गर्दै हिँडिरहेका छौँ ।’

पिडित नागरिकले हात्तीसँग रिस भन्दा पनि जीविकोपार्जन भयो भने ज्यान बच्छ भन्ने कुरा सुनाएको बताउँदै कार्कीले प्रदेश सरकारबाट आवश्यक योजना बानाएर लाग्ने बताए । हात्तीले बालीनाली खान थाल्दा धपाउन जानु परेन भने ज्यान बच्ने भएकाले बालीनालीको क्षतिपूर्ति सरकारले सम्बोधन गर्नुपर्ने देखिएको उनको भनाई छ ।