सुरक्षा विधाका २६ पत्रकारलाई सेनाको अभिमुखीकरण

देशको आवाज
१९ कार्तिक २०८० २२:२०

काठमाडौं,१९ कात्तिक । नेपाली सेनाको सङ्गठनात्मक स्वरुप, जिम्मेवारी तथा भूमिका एवं मुख्य गतिविधिबारे जानकारी गराउने उद्देश्यले सुरक्षा तथा प्रतिरक्षा विधामा कार्यरत पत्रकारहरुका लागि अभिमुखीकरण सुरु भएको छ । भद्रकालिस्थित शैनिक हेडक्वाटारमा आइतबारबाट भएको तालिमको सुरुवात जनसम्पर्क तथा सूचना निर्देशक सहायक रथी कृष्णप्रसाद भण्डारीले गर्नुभयो ।

पाँचदिने कार्यक्रममा नेपाली सेनाका विभिन्न निकायको काम, कर्तव्य र जिम्मेवारीका बारेमा प्रस्तुतीकरण तथा छलफल हुनेछ । सहभागीलाई शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज तथा नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई र मधेस द्रूतमार्ग सडक आयोजनाको स्थलगत भ्रमण गराउने योजना रहेको नेपाली सेनाले जनाएको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै जनसम्पर्क तथा सूचना निर्देशक सहायक रथी कृष्णप्रसाद भण्डारीले संविधानद्वारा निर्देशित तथा राज्यबाट प्राप्त जिम्मेवारी वहन गर्दै मातृभूमिको रक्षा तथा विकास निर्माणको क्षेत्रमा नेपाली सेना समर्पित रहेको बताउनुभयो । उहाँले नेपाली सेना र पत्रकारको उद्देश्य राष्टहित नै भएकाले अन्तत यी दुबै संस्थाबीचको सहकार्य तथा आपसी हित महत्वपूर्ण हुने बताउनुभयो ।

नेपाली सेना सञ्चार जगतबीचको सम्बन्धलाई थप व्यावसायिक बनाउन अभिमुखीकरण उपयोगी हुने उहाँको विश्वास छ । कात्तिक २३ सम्म चल्ने अभिमुखीकरणमा विभिन्न मिडियामा कार्यरत २६ पत्रकारको सहभागिता रहेको छ ।  यो तालिमपश्चात सेनाको अवस्था, आन्तरिक सुशासन, विकास निर्माण र राष्टिय सुरक्षा तथा आपतकालिन खोज, उद्धारमा सेनाले खेलेको भूमिका समेतका विषयमा जानकारी प्रप्त हुने र सम्बन्धीत विषयमा समाचार लेखनकार्यमा सहयोग पुग्ने सहभागी पत्रकारहरुको अपेक्षा छ ।