मलेरिया उन्मुलन गर्न एसियाली देशहरुबीच सहकार्य आवश्यक -स्वास्थ्यमन्त्री बस्नेत

देशको आवाज
१० कार्तिक २०८० २०:०८

काठमाडौं,१० कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मलेरिया उन्मुलन गर्न दक्षिण(पूर्वी एसियाली देशहरुबीच आपसी सहकार्य आवश्यक रहेको बताएका छन्। दक्षिण(पूर्वी एसिया क्षेत्रीय समुन्वय संयन्त्र फोरम (एसआरसीएमएफ) को आयोजनामा शुक्रबारदेखि काठमाडौंमा सुरु भएको मलेरिया उन्मुलनका लागि दक्षिणपूर्वी एसियाका सांसदहरुको योजना तथा तयारीका लागि प्राविधिक समितिको बैठकलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले आपसी सहकार्यमा जोड दिएका हुन्।

मन्त्री बस्नेतले भने, ‘मलेरिया उन्मुलन हामी सबैको साझा अजेण्डा हो। एक देशको प्रयासले मात्र दक्षिण(पूर्वी एसियाबाट मलेरिया उन्मुलन गर्न सकिँदैन। यसमा सबैको प्राविधिक र आर्थिक सहकार्य आवश्यक छ।’ खुला सिमाना र बसाइँसराइका कारण पनि मलेरिया उन्मुलन चुनौतीपूर्ण भएको बताउँदै मन्त्री बस्नेतले सबैको सहकार्य भए सन् २०३० सम्म दक्षिण(पूर्वी एसियाबाट मलेरिया उन्मुलन गर्न सकिने दाबी गरे।

मलेरिया उन्मुलनका साथै स्वास्थ्यका अन्य नीति र कानुन बनाउने सर्वोच्च निकाय संसद् भएकाले विभिन्न देशका संसदका सांसदहरुबीच हुने अनुभव आदान प्रदान र छलफलले यो क्षेत्रबाट मलेरिया उन्मुलनका लागि महत्वपूर्ण भूमिका खेल्ने मन्त्री बस्नेतले बताए। बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले दक्षिण(पूर्वी एसियाका ११ वटै देशको दृढ सहकार्य भएको अवस्थामा सन् २०३० सम्म यो क्षेत्रबाट मलेरिया उन्मुलन गरिछाड्ने दाबी गरेका थिए।