संसद्मा छलफल भईरहेको विद्यालय शिक्षा विधेयकबारे नेविसंघको ध्यानाकर्षण

देशको आवाज
२१ असोज २०८० २२:२०

काठमाडौं,२१ असोज । संसद्मा छलफलमा रहेको विद्यालय शिक्षा विधेयकले विद्यार्थीहरुलाई समेट्न नसकेको नेपाल विद्यार्थी संघ (नेविसंघ) ले निश्कर्ष निकालेको छ । आइतबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर आफ्ना धारणा सार्वजनीक गर्दै नेविसंघका नेताहरुले विधेयकमा समेट्नु पर्ने थुप्रै विषयहरु छुटेको भन्दै विद्यार्थीका सवालका विषयहरु समावेश गरेर पास गर्न आग्रह गरेका हुन् ।

संसद्मा छलफलमा रहेको शिक्षा विधेयकमा विद्यार्थीका सवालहरुमा प्रष्ट नभएकाले सच्याएर पारित गर्नुपर्ने नेविसंघकी नेता प्रेमिका रानाले बताउनुभयो । पत्रकार सम्मेलनमा आफ्ना धारणा राख्दै उहाँले प्रस्तावित विद्यालय शिक्षा विधेयक २०८० मा व्यवस्था भएका प्रावधानहरू विद्यार्थी केन्द्रीत नभएको हुनाले यो विधेयक अपूर्ण  रहेको निष्कर्षसहित विद्यार्थीका मुलभुत विषयहरु समेट्नु पर्ने बताउनुभयो ।

त्यस्तै सार्वजनिक शिक्षा मात्रै निःशुल्क र निजी लगानीमा संस्थापना भएका विद्यालयहरूले शुल्क लिन पाउने व्यवस्था नेपालको संविधान २०७२ को धारा ३१ सँग बाझिएको भन्दै त्यसैले विद्यालय शिक्षा पूर्णत निःशुल्क हुनुपर्ने निष्कर्ष नेविसंघको रहेको नेविसंघका सभापति दुजाङ शेर्पाले बताउनुभयो । उहाँले विद्यार्थीसँग जोडिएका महत्वपूर्ण विषयहरु विधेयकमा समेट्नुपर्ने धारणा राख्नुभयो ।

प्रारम्भिक बालविकास केन्द्र विद्यालय शिक्षा अन्तरगत नै रहने गरी गुणस्तरीय एवं विश्वस्तरीय हुनुपर्ने र उक्त कार्यक्रम तिन वर्षे बनाउनुपर्ने समेत नेविसंघले जनाएको छ। सोही विषयलाई लिएर नेविसंघले पार्टीका महामन्त्री गगन थापा मार्फत ध्यानाकर्षण समेत गराएको छ ।