हमासको आक्रमणमा परी इजरायलमा १० नेपालीसहति कम्तिमा ६ सयको मृत्यु

देशको आवाज
२१ असोज २०८० २१:३२

काठमाडौं, २१ असोज । प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी १० जना नेपाली सहित कम्तिमा ६०० को मृत्यु भएको पुष्टि भएको छ । तीन जना नेपाली सहित सायौंको संख्यामा घाइते भएका छन् । ५० वर्षअघि भएको योम किपर युद्ध सुरु भएको दिन (६ अक्टोबर) को भोलिपल्ट शनिबार हमासले इजरायलमाथि ठूलो आक्रमण गरेको थियो । इजरायली अधिकारीहरुका अनुसार यो आक्रमणमा परी मारिनेको संख्या ६०० नाघेको बताइईको छ ।

आक्रमणमा परि १० नेपालीको मृत्यु भएको इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले पुष्टि गर्नुभएको छ । राजदूत रिजालका अनुसार मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामी रहेका छन् ।

सारदा–२ सल्यानका विधान सेजुवाल, दगिशरण–३ दाङका प्रविण डाँगी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुबैको खट्टामा गम्भीर चोट लागेको छ । रिजालले जानकारी दिनुभयो । त्यस्तै गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेलको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने टीकापुर–९ कैलालीका धनबहादुर चौधरी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । त्रिवेणी–१ सल्यानका प्रमोद केसी फार्म हाउस मामिकको घरमा सुरक्षित छन् भने भजनी त्रिशक्ति–४ कैलालीका वीरेन्द्र चौधरी इजरायलको सुरक्षा पोष्टमा सुरक्षित अवस्थामा रहेको दुतावासले जनाएको छ । ‘मृतक १० जनाको शव नेपाल पठाउन व्यवस्थापन मिलाइरहेका र बाँकी घाइते र बंकरमा सुरक्षितहरुलाई पनि चाँडोभन्दा चाँडो उद्दार गर्न प्रयासरत रहेको राजदुत रिजालले बताउनुभयो ।

आइतबार विहान मात्र परराष्ट्रमन्त्री एनपी साउदले संसदलाई दिएको जानकारीअनुसार इजरायलमा ४ हजार ५०० नेपाली केयर गिभरका रूपमा कार्यरत छन् । २६५ जना विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गएका थिए । जसमा कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए । उनीहरुमध्ये १७ जना गाजा क्षेत्र नजिक दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने क्षेत्रमा भएको आक्रमण्ममा परेको भन्दै परराष्ट्र मन्त्री साउदले भन्नुभएको थियो ‘१२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुनसक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ ।’

आइबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको बैठकले परराष्ट्रमन्त्री साउदको संयोजकत्वमा समन्वय संयन्त्र गठन भएको छ । समन्वय संयन्त्रले नेपालीहरूको अवस्था पहिचान गर्ने र उद्दारसम्बन्धी निर्णय गर्ने लगायतका सम्पूर्ण कायहरु गर्नेछ । संयन्त्र गठन भएलगत्तै परराष्ट्रमन्त्री साउदले नेपालस्थित इजरायली राजदूतसँग भेट गर्नुभएको थियो भने इजरायली सरकारका अधिकारीसँग टेलिफोन संवाद मार्फत त्यहाको बस्तुस्थिति बुझ्नुभएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री साउदले इजरायलमा रहेका नेपालीको स्थिति पहिचान गर्न नेपालीलाई सुरक्षित तवरले रहने प्रवन्ध गर्न उद्धार तथा सहयोग गर्न आवश्यक समन्वय र सहजिकरणको काम भइरहेको बताउनुभएको छ ।