माओवादी–रास्वपा छटपटी

कांग्रेस-एमालेसहितको सत्तामा बाटो खोज्दै साना दल

देशको आवाज
१९ असार २०८१ २०:०२

काठमाडौं । संसदका मुख्य राजनीतिक दल नेपाली कांग्रेस र नेकपा(एमाले)बीच संविधान संशोधनको एजेन्डासहित राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति जुटेसंगै सत्ता गठबन्धन देखि बाहिर रहेका दलहरुमा समेत तरंग उत्पन्न भएको छ । सत्ताको नेतृत्व गरेको नेकपा माओवादी केन्द्र,रास्वपासहित साना दलहरुमा तीब्र छटपटी देखिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालसहित सत्तामा रहेका अरु दलहरुले पनि आन्तरिक र अन्र्तरपार्टी छलफललाई तीब्र बनाएका छन् । प्रचण्ड नेतृत्वको सरकारमा रहेका दलहरुलाई थप छटपटी भएको देखिन्छ । कांग्रेस–एमालेको निर्णयप्रति टिप्पणी गर्दै सत्ताको नेतृत्वकर्ता नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको गठबन्धन पश्चगामी भएको बताए । राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन हुन सक्ने तर पछि फर्किने गरी दुई दलबिच भएको सहमतिले देशमा द्वन्द्व निम्त्याउने उनको आशंका छ ।

बुधबार संवाद डबलीले गरेको कार्यक्रममा बोल्दै गुरुङले भने– ‘संविधानको जग वृहत् शान्ति सम्झौता हो, वृहत् शान्ति सम्झौताको जग जनयुद्ध र जनआन्दोलन हो । मध्यरात षड्यन्त्रमूलक ढङ्गबाट संविधान संशोधनको सहमति गरेर उपलब्धिलाई नै उल्टाउँदै २०४७ सालको संविधान फर्काउन लागेको हो त होइन भन्ने गम्भीर प्रश्न उठेको छ ।’ महासचिव गुरुङले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने संसदबाट विश्वासको मत फेस गर्ने समेत प्रष्ट पारे । कांग्रेस एमालेको निर्णयलाई कार्यन्वायनमा जान नदिन माओवादी र रास्वपाका नेताहरु खुलेरै लागेका छन् ।

२०८१ असार १७ गते मध्यरातमा भएको कांग्रेस–एमाले सत्ता सहकार्यको सहमतिपछि छटपटीमा पर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल पप्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर संविधानको धारा ६८(३) अनुसार प्रधानमन्त्री बन्न पटक पटक आग्रह गरेपनि सभापति देउवाले आफुले ओलीसंग सहमति गरिसकेकाले पछि नफर्कने जवाफ दिइसकेका छने । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) आफूहरुले भ्रष्टाचारका फाइल खोल्न लागेपछि एमाले–कांग्रेसले नयाँ गठबन्धन बनाएर सरकार ढाल्ने काम गरेको टिप्पणी गरेको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर प्रचण्ड नेतृत्वको सरकारमा भएका देखि सत्ता बाहिर भएका सबै राजनीतिक दलहरुले आन्तरिक र अन्र्तरपार्टी छलफललाई सकारात्मक र नकारात्मक दुबै कोणबाट तीब्र बनाएका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले समेत पछिल्लो राजनीतिक घटनाक्रम पश्चात कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर राष्ट्रिय सहमतिको सरकारमा सहभागि हुन सक्ने संकेत गरेका छन । अब गठन हुने सरकारमा सहभागि हुन साना दलहरुले अपेक्षा राखेका छन भने ठूला दलका सांसदहरु मन्त्रीको लवीमा लागिसकेका छन् ।

दुई ठूला दलको सत्ता सहकार्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी, उपेन्द्र नेतृत्वको जनता समाजवादी पार्टी, महन्त ठाकुर नेतृत्वको लोकतान्त्रीक समाजवादीसहित तराई केन्द्रीत दलले समर्थन गर्ने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमाले मिलेर सरकार निर्माण गर्ने कुरा स्वागतयोग्य रहेको बताएका छन् ।