कोशीमा ३ सय ३७ पद रिक्त

कोशी प्रदेश स्वास्थ्य क्षेत्रमा ३९ प्रतिशत कर्मचारी अभाव

देशको आवाज
१७ असार २०८१ ११:१९

विराटनगर । कोशी प्रदेशमा स्वास्थ्यकर्मी र कर्मचारी गरी ३ सय ३७ पद रिक्त रहेको पाइएको छ । प्रदेश स्वासथ्य निर्देशनालयले आयोजना गरेको वार्षिक समिक्षा तथा स्वास्थ्यकर्मी र सञ्चारकर्मीबीचको अन्र्तक्रियामा प्रस्तु तथ्यांकले यस्तो देखाएको हो ।

प्रदेशका १४ वटा जिल्ला स्वास्थ्य कार्यालय,अस्पताल र आयुर्वेद स्वास्थ्यमा गरी ३ सय ३७ दरबन्दी रिक्त रहेको प्रदेश स्वास्थ्य निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । निर्देशनालयको तथ्यांक अनुसार जिल्ला स्वास्थ्य कार्यालयमा १ सय ७३ दरबन्दी रहेकोमा ६९ जना अर्थात ३९.८ प्रतिशत रिक्त रहेको छ । त्यस्तै अस्पतालमा ५ सय ७९ दरबन्दी रहेकोमा २ सय ४० अर्थात ४१ प्रतिशत कर्मचारी र स्वास्थ्यकर्मी रिक्त रहेका छन् ।

आयुर्वेद तर्फ ९८ दरबन्दी कायम रहेकामा २८ जना खाली छ । यसरी हेर्दा प्रदेशको समग्र स्वास्थ्य संरचनामा आवश्यक ८ सय ५० दरबन्दीमा ३ सय ३७ खाली रहेको अवस्था छ । कुल संख्याको ३९ प्रतिशत कर्मचारी तथा स्वास्थ्यकर्मी नहुँदा प्रदेश अन्तर्गत १४ वटै जिल्लाका स्वास्थ्य संस्था तथा अस्पतालहरुले दिने सेवा प्रवाहमा असर परेको छ । स्वास्थ्य मन्त्रालयलाई यस विषयमा पटक पटक ध्यानाकर्षण गराउदा पनि चासो नदिएको स्थायी पदपूर्ति गर्ने व्यवस्था नगरेको स्वास्थ्य निर्देशनालयको गुनासो छ ।

स्वास्थ्य क्षेत्रमा देखिएको राजनीतिकरण र सरकारको अस्थिरताका कारण आवश्यक जनशक्ति व्यवस्थापनको समस्या समाधान हुन नसकेको सम्बन्धीत सरोकारवालाहरुले बताए । निर्देशनालयले गरेको वार्षिक समिक्षामा स्वास्थ्यमन्त्री राजेन्द्र कार्कीले आफ्नो पालामा स्वास्थ्य र शिक्षाको क्षेत्रमा राजनीतिकरण नगर्ने प्रतिवद्धता जनाउँदै रिक्त कर्मचारी व्यवस्थापनका विषयमा चाडै निर्णयमा पुग्ने बताए ।