शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलाई प्रथमिक्ता

सिद्धिचरण नगरपालिकाको बजेट करिव ६७ करोड

देशको आवाज
१२ असार २०८१ १६:५६

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६६ करोड ८१ लाख ५ हजार ८ सय १७ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । १४ औं नगरसभामा नगरप्रमुख तेजन खनाल (तेजेन्द्र) ले पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्यलगायतका विषय प्राथमिकता दिइएको नीति तथा कार्यक्रम र उपप्रमुख केदारबाबु बस्नेतले बजेट प्रस्तुत गरेका थिए ।

नगरपालिकाले यस वर्ष आन्तरिक आय तर्फ १ करोड ७५ लाख, मालपोत कार्यालयबाट घरजग्गा रजिष्ट्रेशन दस्तुर बाँडफाँटबाट ६५ लाख, संघीय सरकारको राजश्व बाँडफाँट १० करोड ४८ लाख प्रक्षपण गरेको छ । त्यस्तै प्रदेश सरकार अन्तर्गत सवारी साधन कर ८३ लाख ४८ हजार, संघीय सरकारबाट वित्तीय समानिकरण अनुदान १० करोड ४५ लाख, समपुरक अनुदान ५० लाख, विशेष अनुदान १ करोड ५५ लाख र शसर्त अनुदान गरी ३५ करोड ४२ लाख २१ हजार बजेट प्रस्तुत गरेको छ ।

त्यसैगरी प्रदेश सरकारबाट वित्तिय समानिकरण ६३ लाख ८७ हजार, समपुरक अनुदान १ करोड ३० लाख र शसर्त अनुदान १ करोड ७० लाख ८६ र बाँकी अपुग रकम मौज्दातबाट १ करोड ५३ लाख ३ हजार ८ सय १७ रुपैयाँ रकम व्यहोर्नेगरी नगरपालिकाले बजेट बनाएको हो । नगरपालिको अवस्था र आवश्यक्ताका आधारमा प्राप्त बजेट विनियोजना गरेको उपप्रमुख केदारबाबु बस्नेतले बताए । नीति कार्यक्रम र बजेट कार्यन्वायनका सन्दर्भमा सबै जनप्रतिनिधि र सरोकारवालाहरुको सहकार्य–साझेदारीमै अघि बढ्ने नगरपलिकाले जनाएको छ ।