सहकारी ठगीसम्बन्धि छानविन समितिले मंगलबार बाट काम थाल्ने

देशको आवाज
४ असार २०८१ ९:३८

काठमाडौं । सहकारी ठगी प्रकरणमा दोषीलाई कारबाही गर्न गठन गरेको संसदीय छानविन समितिले मंगलबारबाट काम सुरु गर्नेभएकाे छ । यसका लागि मंगलबार ११ बजे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरे, उपरजिस्ट्रार टोलराज उपाध्याय, उपरजिष्ट्रार टेकराज अर्याल, राष्ट्रिय सहकारी विकास बोर्डका सह-अध्यक्ष मित्रराज दवाडी, सदस्य सचिव विष्णु पौडेलसहितकाे छलफल राखिएकाे छ ।

जेठ १५ गते गठन गरिएको समिति गुमनाम जस्तै छ । उक्त समितिले काम गर्न नसकेकाे आलाेचना भईरहेकाेवेला मंगलबारबाट छलफल थालिएकाे समितिका सदस्यहरुले बताएका छन् । सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न नेकपा (एमाले)का सांसद सूर्यबहादुर थापाको सभापतित्वमा ७ सदस्यीय छानबिन समिति गठन भएको थियो ।
समितिमा एमाले सांसद सरिता भुसाल, कांग्रेसकी ईश्वरी न्यौपाने र बद्री पाण्डे, माओवादी केन्द्रका लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल र राष्ट्रि प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान छन् । छानबिन समितिले आइतबार बैठक बसेर कार्यविधि पास गरेको समिति सदस्य बद्री पाण्डेले बताए ।

पाण्डेका अनुसार मन्त्री, सहकारी विभागका रजिस्ट्रार र कर्मचारीसँगकाे छलफल पछि प्राप्त सुझावसहित सहकारीको अवस्थाबारे जानकारी लिने र छानविनकाे थप प्रकृया अघि बढाईने छ । समितिले २९ वटा समस्याग्रस्त सहकारीको छानबिन गर्ने सुचि तय गरेकाेछ।